काठमाडौं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री बालेन्द्र साह संसदमा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन तयारी अवस्थामा रहेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको जवाफ माग गर्दै सदन अवरुद्ध गरेपछि सभामुख अर्यालले यस्तो जानकारी दिएका हुन् ।
बैठकलाई सम्बोधन गर्दै उनले विपक्षी दलले उठाएका मागहरू जायज, संवैधानिक र नियमावलीअनुसार रहेको उल्लेख गरे । संसद्को अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको पनि उनले बताए ।
सभामुख अर्यालले आगामी केही दिनमै नयाँ बजेट सार्वजनिक हुने समय नजिकिएकाले कार्यसूचीलाई प्रभावित हुन नदिन सबै दललाई सहयोग गर्न आग्रह गरे । उनले सार्वभौम सांसदहरूले उठाएका जिज्ञासा सम्बोधन हुने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘प्रधानमन्त्रीज्यू सदनमा भइरहेका गतिविधि र माननीय सदस्यहरूले उठाउनुभएको विषयमा पूर्ण रूपमा जानकार हुनुहुन्छ । सत्ता पक्षका मुख्य सचेतकबाट प्राप्त जानकारी अनुसार प्रधानमन्त्रीज्यू सांसदहरूका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन तयारी अवस्थामा हुनुहुन्छ र उहाँ छिट्टै सदनमा उपस्थित हुनुहुनेछ ।‘
विभिन्न समसामयिक विषयमा प्रधानमन्त्रीको आधिकारिक धारणा माग गर्दै प्रतिपक्षी दलहरूले सदन अवरोध गरेपछि सभामुखले संसद् सुचारु गर्न सबै पक्षसँग सहयोगको अपिल गरेका हुन् ।


