काठमाडौं। नेपाली चलचित्र उद्योगमा लामो समयदेखि चलचित्र बिकाउन ‘पुरुष हिरो’ नै चाहिन्छ भन्ने एउटा जबर्जस्त भाष्य स्थापित रहँदै आएको छ।
धेरैजसो कथाहरू अभिनेताकै वरिपरि घुम्ने र अभिनेत्रीहरूलाई केवल प्रेम, त्याग वा पारिवारिक भावनामा मात्र सीमित राख्ने पुरानो परम्परा थियो। तर पछिल्लो समय नेपाली सिनेमामा यो ट्रेन्ड सुखद रूपमा परिमार्जित हुँदै गएको छ र अभिनेत्रीहरूले पनि व्यावसायिक रूपमा चलचित्रलाई आफ्नो काँधमा बोक्न सक्छन् भन्ने प्रमाणित हुन थालेको छ।
हालै प्रदर्शनमा आएका ‘लालीबजार’, ‘एक मुठ्ठी बादल’, ‘लाइफ ड्यामेज’ र ‘गुरू आमा’ जस्ता चलचित्रहरू यसका ताजा उदाहरण हुन्, जहाँ महिलाहरू केवल कथा सजाउने माध्यम मात्र नभएर कथालाई अगाडि बढाउने मुख्य शक्तिका रूपमा प्रस्तुत भएका छन्। लामो अन्तरालपछि अभिनेत्रीहरूले पर्दामा मुख्य भूमिका मात्र होइन, वास्तविक ‘हिरो’ को जिम्मेवारी निभाएको देख्न पाइएको छ।
यी चलचित्रहरूमध्ये यतिबेला स्वस्तिमा खड्का अभिनित ‘लालीबजार’ निकै चर्चामा छ। गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रमा स्वस्तिमाले वादी समुदायकी एक महिलाको जीवन्त संघर्ष र आफ्नो छोरीको भविष्य जोगाउन समाजका कुप्रथा एवं विभेदविरुद्ध जुध्ने आमाको सशक्त कथालाई पर्दामा उतारेकी छन्।
अभिनेत्री खड्काका अनुसार चलचित्रको केन्द्रमा महिला पात्र हुनु आफैँमा एउटा ठूलो वैचारिक परिवर्तन हो। अझै पनि उद्योगमा धेरै कथाहरू पुरुष पात्रकै लागि लेखिने भए तापनि दर्शकहरूले अहिले फरक र अर्थपूर्ण कथालाई स्विकार्न थालेकाले पटकथा बलियो भएमा पात्रको लिङ्गभन्दा पनि कथा नै महत्त्वपूर्ण हुने उहाँको बुझाइ छ।
त्यस्तै, अर्को चलचित्र ‘एक मुठ्ठी बादल’ ले महिलाको व्यक्तिगत स्वतन्त्रता र निर्णय क्षमताको गम्भीर विषयलाई उठाएको छ। गत जेठ १ गतेदेखि प्रदर्शनमा आएको यस चलचित्रमा अभिनेत्री आँचल शर्माले ‘माइली’ छोरीको भूमिका निर्वाह गरेकी छन्, जसले विवाह जस्तो व्यक्तिगत जीवनको निर्णयमा परिवारको दबाब बिना आफ्नै स्वतन्त्र मनोविज्ञान र आत्मविश्वास प्रस्तुत गर्दछ।
यस चलचित्रको विशेष पक्ष के छ भने यसमा अभिनेत्री आँचल शर्मा, निशा शर्मा र उषा रजकलगायतका महिला कलाकारहरूको मुख्य अभिनय मात्र छैन, बरु यसको निर्देशन, छायांकन र सम्पादन जस्ता चलचित्र निर्माणका प्रायः सबै प्रमुख प्राविधिक विधाहरूमा महिलाकै नेतृत्व रहेको छ। अभिनेत्री शर्माका अनुसार यस चलचित्रले महिलाहरू आफ्नो जीवनको निर्णय आफैँ गर्न सक्षम छन् भन्ने बलियो सन्देश प्रवाह गरेको छ।
नेपाली सिनेमाको इतिहासलाई हेर्ने हो भने कुनै समय अभिनेत्री रेखा थापाले रजतपटमा महिला पात्रलाई ‘एक्शन हिरो’ का रूपमा स्थापित गराएकी थिइन्, तर उनीपछि बजार पुनः पुरुष केन्द्रित कथातर्फ नै फर्किएको थियो।
अहिले फेरि परिस्थिति बदलिएको संकेत मिल्न थालेको छ। पछिल्लो समय प्रदर्शनमा आएका यी चलचित्रहरूले दर्शकहरू अब केवल परम्परागत ‘हिरो’ हेर्न मात्र हलसम्म जाँदैनन्, बरु उनीहरू बलियो कथाको भोको छन् र त्यो कथा महिलाको दृष्टिकोणबाट पनि उत्तिकै प्रभावकारी रूपमा भन्न सकिन्छ भन्ने विश्वास नेपाली चलचित्र उद्योगमा विस्तारै बलियो हुँदै गएको पुष्टि गर्छन्।


