+

महामन्त्री शाह भन्छन्- ढुक्क हुनुस्, देश बनाउँछौँ

१६ जेष्ठ २०८३, शनिबार २१:४१

भरतपुर। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी नेतृत्वको सरकारले देश विकास गर्नेमा ढुक्क रहन आग्रह गरेका छन्।

चितवनको भरतपुरमा आज आयोजित रास्वपा भरतपुर महानगर समितिको प्रथम अधिवेशन उद्घाटन गर्दै उनले चुनावी वाचापत्रअनुसार आगामी आर्थिक वर्षको बजेट ल्याएकाले जनतालाई गरेको वाचाअनुसार काम गर्न आफूहरू प्रतिबद्ध रहेको बताए।

महामन्त्री शाहले भने, “सरकारले पार्टीले तयार पारेको वाचापत्रलाई प्रतिबद्धता पत्रमा ढाल्यो, त्यसअनुसार बजेटको व्यवस्था गरिएको छ। अब त्यसलाई विकासमा ढाल्नका लागि अगाडि बढिरहेको छ। हामीले सफा नियतका साथ काम गरिएका छौँ। जनतासँग गरेका वाचा पू्रा गर्न पार्टी र सरकार प्रतिबद्ध छ।”

उनले पार्टी राजीतिमा दुई किसिमका गुणको सङ्घर्ष हुने गरेको भन्दै पार्टी र देशलाई माया गर्ने गुणलाई साथमा लिएर हिँड्नुपर्नेमा जोड दिए। पार्टीमा योगदान दिने र काम गरिरहने वर्गलाई नथाक्न आग्रह गर्दै महामन्त्री शाहले सबल पार्टीको माध्यममार्फत देश बनाउन लाग्नुपर्नेमा जोड दिए।

उनले सबल पार्टी बनेमा कम्तीमा दुई/तीन दशक देशको नेतृत्व गर्ने दाबी गर्दै त्यसैले पार्टी बलियो बनाउने बेला आएको बताए। महामन्त्री शाहले भने, “अहिले पार्टी निर्माण गर्ने बेला हो, यस अभियानमा योगदान दिनेलाई पार्टीले सोहीअनुसार अवसर दिन्छ। पार्टी महाधिवेशनमा होमिएको छ, चुस्त र बलियो सङ्गठन बनाउन सबैले मेहनत गरौँ।”