+

सडक सञ्जालमा जोडियो अपि

२३ जेष्ठ २०८३, शनिबार १३:४४

दार्चुला । अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ । खलङ्गाबाट २३ कोष उत्तर-पश्चिममा रहेको पालिकाको वडा नं ३ गौड्याखोलासम्म सडक पुगेको हो । सडक सञ्जालबाट अझै नजोडिएका पालिकालाई जोड्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि यस योजनालाई प्राथमिकतामा राखेको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ, “हालसम्म सडक सञ्जालसँग नजोडिएका अपिहिमाल गाउँपालिका, साइपाल गाउँपालिका र स्वामीकार्तिक खापर गाउँपालिकालाई प्रादेशिक तथा स्थानीय सडक सञ्जालसँग जोड्ने लक्ष्य राखिएको छ ।” सडक जोड्न सङ्घीय सरकारले विशेष प्राथमितामा राखेको छ । अपिहिमाल गाउँपालिकाले सडकलाई निरन्तर प्राथमिकता दिँदै निर्माण अघि बढाएको छ ।

“सडक अभावका कारण स्थानीयले वर्षौंदेखि यातायात, विकास निर्माण र दैनिक उपभोगका सामग्री ढुवानीमा कठिनाइ भोग्दै आएका थिए । अपिमा ढुवानीका कारण स्थानीयले समस्या झेलेका थिए । मकरीगाडबाट खण्डेश्वरी घुसासम्म पुग्न १० प्रतिकिलो ढुवानी लाग्थ्यो”, स्थानीय खडक रोकायाले भने, “सडक गाउँसम्मै आएपछि ढुवानी भाडामा सहजता हुनेछ ।” अपिहिमाल गाउँपालिका(५ मकरीगाडसम्म मात्रै सडक पुगेको अवस्थामा अहिले भट्टार गाउँसम्म विस्तार भएपछि स्थानीयमा सडक पुग्ने आशा पलाएको उनको भनाइ छ ।

स्थानीय दीपक टमटाले गाउँपालिका केन्द्रसम्म पनि सडक पुग्ने सम्भावना भएसँगै दैनिकी सहज हुने विश्वास व्यक्त गरे । उनका अनुसार भट्टारभन्दा अगाडि सडक पुगिसकेको छ भने निर्माण निरन्तर जारी रहेकाले छिट्टै पालिका केन्द्रसम्म सवारी सञ्चालन हुने विश्वास स्थानीयले गरेका छन् । गाउँपालिका केन्द्र वडा नं ४ को नौपाटामा पर्छ । सडकले गाउँपालिकाका वडा नं ३ र ४ लाई जोड्छ । यो ठाउँमा सडक काट्न चट्टानी भू(भाग नहुँदा पनि सडकले गति लिनेछ ।

अपिहिमाल(१ र २ मा सडक सञ्जालले तत्काललै जोडिने सम्भावना छैन् । तर वडा नम्बर ३ को काफलधारसम्म पनि सडक पुग्दा थोरै भए पनि अन्य वडाको लागि राहत हुने स्थानीय बताउँछन् । सडक निर्माण विएनबी कन्स्ट्रक्सन सुर्खेतले गरिरहेको छ । निर्माण कम्पनीका प्रतिनिधि धर्मसिंह धामीले चालु आर्थिक वर्षभित्र काम सम्पन्न नभए पनि आगामी आवमा पालिका केन्द्रसम्म सडक पुर्‍याउने लक्ष्यसहित काम भइरहेको जानकारी दिए । सडक नहुँदा विकास निर्माणका सामग्री ढुवानी महँगो पर्नुका साथै विभिन्न आयोजना कार्यान्वयनमा समस्या हुँदै आएको थियो । सडक विस्तारसँगै अब विकास निर्माणका काममा सहजता आउने अपेक्षा गरिएको छ ।

अपिहिमाल गाउँपलिकाका अध्यक्ष भक्तसिंह ठेकरे बोहराका अनुसार यसै आर्थिक वर्षभित्र सडक काफलधारसम्म जोडिने छ । मकरीगाडबाट भट्टारसम्मको कडा चट्टानी भाग उछिनेर अब सहज ठाउँमा सडक निर्माण अघि बढेको छ । “शीघ्र पालिका मुकाममा सडक पुग्नेछ”, उनले भने, “नयाँ आर्थिक वर्षमा (आगामी आव) अपिहिमालको विकासका लागि महत्वपूर्ण वर्ष सावित हुनेछ ।”

अध्यक्ष बोहराका अनुसार पारिवगर(मकरीगाड सडक स्तरोन्नतिको ठेक्का लागिसकेको छ । दुई वर्षभित्र कालोपत्रसहित स्तरोन्नति सकिने छ । दुई वर्षभित्र सम्पन्न गर्नेगरी मकरीगाडमा मोटेरबल पुल निर्माणको ठेक्का भएको छ । अपिहिमाल(४ र ३ जोड्ने सडकमा रु सात करोड बजेट सुनिश्चित भएको भन्दै उनले आगामी आवमा सडक निर्माण पालिका केन्द्र पुग्नेछ ।

ताजा अपडेट