काठमाडौं । तीन दिने भारत भ्रमण सकेर आइतबार स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनाल अर्को साता चीन भ्रमण जाने भएका छन् । स्रोतका अनुसार खनाल चार दिने भ्रमणका लागि जेठ ३१ गते चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
भ्रमणका क्रममा उनले चीनका विदेशमन्त्री वाङ यी र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ हाइसिङलाई भेट्ने कार्यक्रम रहेको छ भने नेपाली डायस्पोरासँग अन्तर्क्रिया पनि गर्नेछन् ।
मन्त्री खनालको भ्रमणको मिति र एजेण्डा भने परराष्ट्र मन्त्रालयले सार्वजनिक गरिसकेको छैन ।
यसअघि जुन २ मा मात्रै काठमाडौँमा नेपाल-चीन सहजीकरण संयन्त्रको तेस्रो बैठक सम्पन्न भएको थियो, जहाँ नेपालमा सञ्चालित चिनियाँ लगानीका आयोजनाहरूको समीक्षा गरिएको थियो। मन्त्री खनालको यो भ्रमणमा बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना अघि बढाउने र दुई देशबीचको कनेक्टिभिटी (यातायात सञ्जाल) विस्तार गर्ने विषयमा गहन छलफल हुने अनुमान गरिएको छ।


