+

काभ्रे बस दुर्घटनाप्रति कांग्रेस सभापति थापाद्वारा दुःख व्यक्त

२९ जेष्ठ २०८३, शुक्रबार २२:१४

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले काभ्रेपलाञ्चोक र धनकुटामा भएका बस दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्।

कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा शुक्रबार जारी प्रेस विज्ञप्तिमा सभापति थापाले काभ्रेको नमोबुद्धमा भएको बस दुर्घटनामा आठ जनाको मृत्यु भएको तथा धनकुटाको च्याङच्याङबारीमा भएको अर्को बस दुर्घटनामा ११ जना यात्रु घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन्।

विज्ञप्तिअनुसार बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको यात्रुवाहक बस नमोबुद्धमा दुर्घटना हुँदा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। त्यसैगरी, संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको यात्रुवाहक बस धनकुटाको च्याङच्याङबारीमा दुर्घटना हुँदा ११ जना यात्रु घाइते भएका थिए।

सभापति थापाले दुर्घटनामा ज्यान गुमाएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेका छन्। साथै उनले शोकसन्तप्त परिवारजनप्रति पार्टी र व्यक्तिगत तर्फबाट गहिरो समवेदना व्यक्त गरेका छन्।

थापाले घाइतेहरूको उपचारको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्। पछिल्लो समय सडक दुर्घटनाका घटना बढ्दै गएको उल्लेख गर्दै उनले तत्काल एक कार्यदल गठन गरी यस्ता घटनाको गहिरो अध्ययन गर्न र दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।