सिरहा। सिरहा प्रहरीले आठ ग्राम ८० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोलबजार नगरपालिका–२ लालपुर निवासी २१ वर्षीय श्यामसुन्दर साह रहेका छन्।
जिल्लाको सुखीपुर नगरपालिका–२ छजनामा इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका साहलाई जाँच गर्ने क्रममा उनको साथबाट ब्राउनसुगर बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको तथा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
पछिल्लो समय जिल्लामा लागूऔषध ओसारपसार तथा कारोबारका घटना बढ्दै गएपछि प्रहरीले निगरानी र चेकजाँचलाई थप कडा बनाएको जनाएको छ।


