काठमाडौं। ललितपुरमा प्रहरीले गुडिरहेको कारको टायरमा गोली प्रहार गरी ठुलो परिमाणमा प्रतिबन्धित लागुऔषध बरामद गर्नुका साथै तीन जना तस्करहरूलाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले दुई जना भारतीय नागरिक र एक जना नेपालीसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा बाराको सिम्रौनगढ नगरपालिका-३ घर भएका ३५ वर्षीय जितेन्द्र पासवान, भारतका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम रहेका छन्।
बाराको सिम्रौनगढ क्षेत्रबाट काठमाडौँ उपत्यकातर्फ आउँदै गरेको बागमती प्रदेश बीएडी ९२०१ नम्बरको रातो रङको कारभित्र अवैध रूपमा ठुलो परिमाणमा लागुऔषध ‘ट्रामाडोल’ भित्र्याउन लागिएको विशेष सूचना लागुऔषध नियन्त्रण ब्युरोले पाएको थियो।
सोही सूचनाका आधारमा ब्युरोको पिलिङ टोलीले उक्त कारको कडा पिछा गरेको थियो। पिछा गर्ने क्रममा उक्त कारका साथै उनीहरूलाई स्कर्टिङ गरिरहेको अवस्थामा बा ५२ प ४५६७ नम्बरको मोटरसाइकल समेत फेला परेको थियो।
ललितपुर क्षेत्रमा आइपुगेपछि प्रहरी टोलीले दुवै सवारीसाधनलाई घेरा हाली रोक्न खोजेको थियो। तर, प्रहरीलाई देख्नासाथ तस्करहरूले सवारीसाधन तीव्र गतिमा भगाउने प्रयास गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो।
लागुऔषध नियन्त्रण ब्युरोका प्रहरी उपरीक्षक (एसपी) तथा प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार तस्करहरू भाग्न खोजेपछि प्रहरीले कारको दायाँतर्फको टायरलाई लक्षित गरी एक राउन्ड गोली प्रहार गरेको थियो।
गोली लागेर कारको टायर पञ्चर भएपछि सो सवारीसाधन रोकिन पुग्यो र प्रहरीले तत्कालै तीनै जनालाई घेरा हाली नियन्त्रणमा लिन सफल भयो। नियन्त्रणमा लिइएको उक्त रातो कारभित्र खानतलासी गर्दा प्रहरीले अवैध रूपमा लुकाएर ल्याइएको २० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको छ।
यसका साथै तस्करहरूको साथबाट सञ्चार र समन्वयका लागि प्रयोग गरिएका ५ थान मोबाइल समेत बरामद गरिएको छ। बरामद गरिएको ट्रामाडोल चिकित्सा क्षेत्रमा चिकित्सकको सल्लाह बिना बिक्री वितरण गर्न निषेध गरिएको र दुर्व्यसनीहरूले यसलाई कडा लागुऔषधको रूपमा प्रयोग गर्ने गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेका तीनै जना र बरामद गरिएका सवारीसाधनमाथि लागुऔषध नियन्त्रण ऐन अन्तर्गत थप अनुसन्धान र कानुनी कारबाही अगाडि बढाइएको ब्युरोले स्पष्ट पारेको छ।


