मकवानपुर। बागमती प्रदेशसभाको बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले बागमती प्रदेशको चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण २०८२/८३ पेस गर्नुभएको छ। आजको बैठकमा सो आर्थिक सर्वेक्षणमा उल्लेख भएअनुसार बागमती प्रदेशभित्र राजस्व असुली गर्ने कार्य उल्लेखित प्रगती भएको उनले जानकारी दिए।
मन्त्री तामाङले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रत्येक नागरिकलाई आर्थिक समृद्धि गर्नेतर्फ लक्षित कार्यक्रम ल्याइने बताए। उनले प्रदेशको विभिन्न जिल्लामा नयाँ ८०० किलोमिटर सडक निर्माण सम्पन्न गरिएको र खानेपानी, सिँचाइका विद्युतीय योजनालाई कार्यान्वयन गर्दै लगिने जानकारी दिए।
मन्त्री तामाङले प्रदेशको विभिन्न जिल्लामा सडकका ढल व्यवस्थापन गरिनुका साथै स्तरोन्नति गरिएको, थप सडक कालोपत्र गरी विपन्न जनतालाई सुविधा उपलब्ध गराइएको उल्लेख गरे। उनले कृषि उत्पादनलाई बढुवा दिन विपन्न समुदायको चेपाङ, तामाङ, जनजाति, दलित, आदिवासीलगायत खस र आर्यलाई केन्द्रमा राखेर आगामी आव २०८३/८४ का लागि आर्थिक योजनाका कार्यक्रम ल्याइने जानकारी दिए।
सोही बैठकमा प्रदेशसभाअन्तर्गत रहेका पाँच वटा विभिन्न समितिका सभापतिहरूले आआफ्नो समितिको तर्फबाट सातौँ प्रतिवेदन प्रस्तुत गरेका थिए। समितिको सातौँ प्रतिवेदन प्रस्तुत गर्नेमा क्रमशः प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जेलामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, अर्थ तथा विकास समितिका सभापति नुरज वज्राचार्य, कृषि स्वास्थ्य र शिक्षा समितिका सभापति ठाकुरप्रसाद ढकाल र उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ छन्।
बैठकमा विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले सो समितिको तेस्रो प्रतिवेदन छुट्टै पेस गरेकी थिइन्। प्रदेशसभाको उपसभामुख अप्सरा चापागाईंले अर्को बैठक असार १ गते अपराह्न ४ः०० बजे बस्ने जानकारी दिँदै आजको बैठक स्थगित गरिन्।


