काठमाडौं । विशेष अदालतले राहदानी छपाइमा भ्रष्टाचार गरेको आरोप लागेका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अनुमति दिएको छ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले सोमबारदेखि नै लागू हुने गरी उक्त म्याद थप गरेको हो।
राहदानी छपाइमा भ्रष्टाचारजन्य कसुर गरेको आरोपमा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि म्याद थप गर्न अख्तियारले विशेष अदालतमा निवेदन दिएको थियो। सोही निवेदनका आधारमा अदालतले अनुसन्धान प्रक्रिया अघि बढाउन अनुमति दिएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले जानकारी दिए।


