धादिङवेशी । धादिङमा अवैध रूपमा भरुवा बन्दुक लुकाई–छिपाई राखेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी अधिकृतसहितको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको हो।
नीलकण्ठ नगरपालिका वडा नं. ११ को गोलाभन्ज्याङस्थित बिरूडा सामुदायिक वन र आसपासका क्षेत्रमा केही व्यक्तिहरूले अवैध रूपमा भरुवा बन्दुक लुकाई राख्ने तथा जंगली जनावरहरूको चोरी शिकार गर्ने गरेको भन्ने गोप्य सूचना प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा प्रहरीले निगरानी बढाउँदै सोमबार साँझ खानतलासी गर्दा दुई थान अवैध हतियार फेला पारेको हो।
प्रहरीका अनुसार नीलकण्ठ नगरपालिका-११ का ३३ वर्षीय श्याम बहादुर शाक्यले सिम्ले सामुदायिक वनको बिरौटा भिरमा बारुद भरी लोड गरेको अवस्थामा लुकाई राखेको एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
यसैगरी, नीलकण्ठ नगरपालिका-९ पाल्पाभन्ज्याङका ३२ वर्षीय सन्त बहादुर गुरुङले बिरूडा सामुदायिक वन छेउको झाडीमा लुकाई राखेको अवस्थामा अर्को एक थान भरुवा बन्दुकसहित पक्राउ परेका हुन्।
स्थानीय मानिसहरूको रोहबरमा बरामदी मुचुल्का गरी दुवै जनालाई तत्काल पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। पक्राउ परेका दुवै जनाविरुद्ध हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार, आज मिति २०८३ असार २ गते दुवै अभियुक्तलाई धादिङ जिल्ला अदालतमा पेश गरिएको र अदालतबाट नौ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ।


