काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत आज बन्दसत्र सुरु भएको छ। नेतृत्व चयन र आगामी कार्यदिशा तय गर्ने मुख्य एजेन्डासहित सुरु भएको बन्दसत्रमा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको छ।
बन्दसत्रलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले पार्टीभित्र मौलाउन खोजेको गुट–उपगुटको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले हिजोको परम्परागत शैलीलाई निरन्तरता दिएर नयाँ र फरक परिणाम ल्याउन नसकिने स्पष्ट पारे।
सभापति लामिछानेले भने, ‘साथीहरू, हामीभित्र पनि गुट–उपगुट कायम रह्यो भने हामीबाट आउने परिणाम पनि पुरानै हुन्छ। फरक परिणाम निकाल्ने हो भने हामीले केही फरक गर्नैपर्छ। हिजोकै शैली अपनाएर फरक परिणाम आउँछ भन्ने सोच्नु दिवास्वप्न मात्र हो।’

उनले प्रतिनिधिहरूलाई विवेकपूर्ण निर्णय लिन आग्रह गर्दै कसैको प्रभाव वा दबाबमा नपरी मतदान गर्न आह्वान गरे। ‘यदि कसैले गलत मनशायका साथ वा गलत तरिकाले तपाईंलाई यो हलसम्म ल्याएको छ भने त्यो कुरा त्यहीँ रोक्नुहोस्। कसैले प्रतिनिधि बनाएर ल्याएको छ भने उसलाई धन्यवाद दिनुहोला, तर भोट चाहिँ योग्य व्यक्तिलाई नै दिनुहोला,’ लामिछानेले भने।
आफू तटस्थ बसेको दाबी गर्दै लामिछानेले जसले जिते पनि अन्ततः ‘घण्टी’ (रास्वपा) कै जित हुने विश्वास व्यक्त गरे। उनले थपे, ‘म अहिले पूर्ण रूपमा आइसोलेट छु र कसैको पक्षमा छैन। पार्टीको केन्द्रीय समितिमा जाने मानिसहरू विवेकपूर्ण ढंगले छनोट गर्नुहोला।’
उनले पार्टीभित्र अफवाह फैलाउने र भोट प्रभावित पार्ने प्रयास भइरहेको भन्दै त्यस्ता कार्यप्रति सचेत रहन प्रतिनिधिलाई आग्रह गरे। उनले भने, ‘तपाईंले कसलाई भोट हाल्ने भन्ने तपाईंको व्यक्तिगत अधिकार हो। तर, यसलाई भोट देऊ, उसलाई नदेऊ भन्दै मान्छे पठाउने प्रवृत्ति रास्वपाको संस्कार होइन।’












