+

इरान युद्धमा ८७ अर्ब डलर माग

११ असार २०८३, बिहीबार १६:०७

वासिङ्टन । इरानसँगको युद्धका कारण बढ्दो सैन्य खर्चका बीच ह्वाइट हाउसले अमेरिकी कङ्ग्रेससँग ८७ अर्ब ६० करोड अमेरिकी डलरको अतिरिक्त बजेट माग गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको इरान नीति र युद्ध व्यवस्थापनमाथि कङ्ग्रेसमा विवाद चर्किरहेका बेला आएको यो प्रस्तावले नयाँ राजनीतिक बहस पनि सिर्जना गरेको छ ।

ह्वाइट हाउसको व्यवस्थापन तथा बजेट कार्यालयले बुधबार कङ्ग्रेसलाई पठाएको पत्रमा इरानसँग सम्बन्धित ‘अपरेसन एपिक फ्युरी’ का तत्काल आवश्यकताका साथै अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रण र अमेरिकी किसानलाई सहयोग गर्न अतिरिक्त बजेट आवश्यक रहेको जनाएको छ ।

प्रस्तावित रकममध्ये करिब ७० अर्ब डलर रक्षा मन्त्रालयलाई छुट्याइएको छ । यो रकम सैन्य तयारी, सैनिक कर्मचारीको खर्च, युद्धका क्रममा प्रयोग भएका हतियार तथा सामग्रीको पुनः भण्डारण, सञ्चालन खर्च र गोप्य कार्यक्रमहरूका लागि प्रयोग गरिने जनाइएको छ ।

यस अतिरिक्त बजेट प्रस्तावमा अमेरिकी किसानहरूलाई सहयोग गर्न ११ अर्ब डलर तथा अफ्रिकामा फैलिएको इबोला प्रकोप नियन्त्रणका लागि एक अर्ब ४० करोड डलर पनि समावेश गरिएको छ ।

प्रशासनले वासिङ्टन डीसी र आसपासका पुनर्निर्माण तथा पूर्वाधार आयोजनाका लागि ५० करोड डलर र न्युयोर्कस्थित पेन स्टेसनको नवीकरण कार्य सम्पन्न गर्न थप एक अर्ब डलर माग गरेको छ ।

यद्यपि इरानसँगको युद्धप्रति जनसमर्थन कमजोर बन्दै गएका बेला यो खर्च प्रस्तावले कङ्ग्रेसमा कडा चुनौती सामना गर्ने देखिएको छ । दुवै दलका केही सांसदहरूले युद्धसम्बन्धी थप खर्चप्रति असन्तुष्टि जनाउँदै आएका छन् ।

यसैबीच अमेरिकी सिनेटले मङ्गलबार इरानसम्बन्धी युद्ध अधिकार प्रस्ताव पारित गर्दै कङ्ग्रेसको स्वीकृतिबिना राष्ट्रपति ट्रम्पलाई थप सैन्य कारबाही सुरु गर्न नपाउने व्यवस्था गरेको छ । फेब्रुअरीको अन्त्यदेखि सुरु भएको द्वन्द्वपछि पहिलो पटक यस्तो प्रस्ताव कङ्ग्रेसका दुवै सदनबाट पारित भएको हो ।

सिनेटमा केही रिपब्लिकन सांसदहरूले पनि डेमोक्रेटहरूसँग मिलेर मतदान गरेपछि राष्ट्रपति ट्रम्पले उनीहरूको आलोचना गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले ती चार रिपब्लिकन सिनेटरलाई ‘हारेका व्यक्ति’ भन्दै उनीहरूले आफ्नो काम कठिन बनाएको टिप्पणी गरेका थिए । उनले चुनौतीका बाबजुद आफ्नो योजना अघि बढाउने बताएका छन् ।