+

बर्डफ्लु नियन्त्रण गर्न उपत्यकासहित ११ जिल्लामा प्राविधिक टोली परिचालन, उच्च सतर्कता अपनाउन विभागको आग्रह

१२ असार २०८३, शुक्रबार १६:२३

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बर्डफ्लु सङ्क्रमण फैलिएपछि पशुसेवा विभागले नियन्त्रण कार्यलाई तीव्रता दिएको छ। सङ्क्रमण थप फैलिन नदिन विभागले विभिन्न स्थानमा प्राविधिक टोली परिचालन गर्नुका साथै नियमित नमूना परीक्षण र निगरानीलाई उच्च प्राथमिकतामा राखेको छ।

पछिल्लो तीन महिनाको अवधिमा देशका ११ जिल्लामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएको विभागले जनाएको छ। हालसम्म करिब एक सयभन्दा बढी कुखुरा फार्ममा सङ्क्रमण देखिएको छ। विभागले सङ्क्रमण पुष्टि भएका फार्मका पन्छी, अण्डा र दाना नष्ट गरी भाइरस नियन्त्रणको प्रयास गरिरहेको छ।

पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार, विशेषगरी काठमाडौं उपत्यकाका चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर, गोदावरी, चाँगुनारायण र सूर्यविनायक क्षेत्रका फार्महरूमा बर्डफ्लुको सङ्क्रमण बढी देखिएको छ। जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ, भक्तपुर, ललितपुर र काभ्रेमा नियन्त्रणका कार्यलाई विशेष प्राथमिकतामा राखिएको छ।

बर्डफ्लुको प्रभावकारी उपचार वा खोप उपलब्ध नभएकाले सङ्क्रमित क्षेत्रका पन्छी नष्ट गर्नु नै भाइरस नियन्त्रणको एकमात्र विकल्प रहेको विभागको निष्कर्ष छ। सङ्क्रमण मानिसमा समेत सर्न सक्ने उच्च सम्भावना रहेकाले सावधानी अपनाउन महानिर्देशक दाहालले पन्छी व्यवसायी तथा आम उपभोक्तालाई अपिल गरेका छन्।

विभागले थप क्षति हुन नदिन आगामी डेढ महिनासम्म फार्महरूमा नयाँ चल्ला नराख्न र उच्च सतर्कता अपनाउन किसानहरूलाई आग्रह गरेको छ।

सङ्क्रमण नियन्त्रणका लागि विभागका महानिर्देशकको संयोजकत्वमा केन्द्रमा र प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लास्तरमा छुट्टाछुट्टै बर्डफ्लु समन्वय समिति गठन गरिएको छ।

विभागका सूचना अधिकारी मुकुल उपाध्यायका अनुसार, नष्ट गरिएका पन्छी, अण्डा र दानाको प्रमाणका आधारमा किसानहरूलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ। क्षतिपूर्तिको दररेट जिल्लास्थित समन्वय समितिले निर्धारण गर्नेछ।