काठमाडौं । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
एसएचए २२७ कलसाइनको उक्त जहाजको ककपिटमा धुवाँको संकेत देखिएपछि पाइलटले सावधानी अपनाउँदै विमानलाई भैरहवामा अवतरण गर्ने निर्णय लिएका हुन्।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक श्याम किशोर साहका अनुसार विमान सकुशल अवतरण भएको छ भने यात्रुहरूलाई विमानस्थलको सुरक्षित क्षेत्रमा राखिएको छ।
श्री एयरलाइन्सले काठमाडौंबाट अर्को विमान पठाएर यात्रुहरूलाई गन्तव्य (धनगढी) तर्फ लैजाने व्यवस्था मिलाइएको जनाइएको छ।
विमानमा देखिएको प्राविधिक समस्याको विस्तृत प्राविधिक जाँचपछि मात्र थप स्पष्ट हुने एयरलाइन्सले जनाएको छ।


