+

प्रहरीका ३६८ लेखा प्रमुखको सरुवा, को कहाँ?

१५ असार २०८३, सोमबार २१:०२

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ठूलो संख्यामा लेखा प्रमुखहरूको काज सरुवा गरेको छ। प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखाले आन्तरिक लेखा परीक्षण शाखाको सिफारिसलाई आधार मान्दै प्रहरीका ३६८ जना लेखा प्रमुखहरूको सरुवा गरेको हो।

प्रहरी संगठनको प्रशासनिक कार्यलाई थप चुस्त र पारदर्शी बनाउने उद्देश्यसहित विभिन्न युनिट तथा कार्यालयहरूमा लेखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरिएको छ। सरुवाको पछिल्लो सूचीअनुसार प्रहरी प्रधान कार्यालय स्थित विशेष ब्यूरोको लेखा प्रमुखमा इन्स्पेक्टर उदय कुमार चौधरीलाई जिम्मेवारी दिइएको छ। त्यसैगरी, कल्याण महाशाखामा इन्स्पेक्टर डेकेन्द्र शर्मा, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा दिपेश खरेल, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा प्रकाश शाह र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा महेश बिक्रम शाहलाई सरुवा गरिएको छ।

यसैगरी, साइबर ब्यूरोमा रविन ढकाल, लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा राकेश रेग्मी, महाराजगञ्ज स्थित प्रहरी अस्पतालमा राजन उप्रेती र बागमती प्रदेश प्रहरी कार्यालयमा सविन कुमार संग्रौलालाई खटाइएको छ।

सूचीमा इन्स्पेक्टरका अतिरिक्त वरिष्ठ सई, सई र असईहरूलाई पनि विभिन्न युनिटमा लेखा प्रमुखको जिम्मेवारीसहित सरुवा गरिएको छ। जसअनुसार ललितपुर प्रहरी परिसरमा वरिष्ठ सई अमृत कुमार भडेललाई खटाइएको छ।

प्रहरी प्रधान कार्यालयले सरुवा भएका सम्पूर्ण कर्मचारीहरूलाई तोकिएको स्थानमा अविलम्ब हाजिर हुन निर्देशन दिएको छ।