+

सर्वाधिक मत पाएका डा.वाग्ले रास्वपाको केन्द्रीय भूमिकामा : आर्थिक सुधारको अभियान अगाडि बढाउन मदत पुग्ने आकंलन

१६ असार २०८३, मंगलवार ११:१६

काठमाडौं । असारको पहिलो हप्ता नेपालमा एउटै विषय सबैभन्दा बढी चर्चामा रहयो । त्यो हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो ऐतिहासिक महाधिवेशन । ७ असारमा उद्घाटन भएको महाधिवेशन ९ गते सकिने कार्यतालिका थियो तर व्यवस्थापकीय कमजोरीका कारणले गर्दा तीन दिन लम्बिएर १२ असारमा मात्र समापन भयो ।

दोस्रो चरणको मतदानबाट पदाधिकारीहरुको मत परिणाम आएसँगै गत शुक्रवार अपरान्हमात्रै महाधिवेशनको बिट मारियो । निर्वाचनमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि दोस्रो चरणको मतदान भएको हो । सभापतिमा कसैको उम्मेदवारी नपरेपछि रवि लामिछाने निर्विरोध भए भने अन्य पदाधिकारीमा मतदान भएको थियो ।

विद्युतीय मेसिनमार्फत गराइएको मतदानमा रोचक कुरा चाहिं ठूलो संख्यामा प्रतिनिधि नै मतदान प्रक्रियामा सामेल भएनन् । पहिलो चरणमा केन्द्रीय सदस्यका लागि भएको मतदानमा २ हजार ९५९ मत खसेकोमा दोस्रो चरणमा जम्मा १ हजार २८९ मत मात्र खस्यो । पहिलो चरणको मतदानभन्दा झन्डै १ हजार ६७० मत कम खसेको निर्वाचन समितिले जनाएको छ ।

१९ सदस्यीय पदाधिकारीमा सभापतिसहित सात जना निर्वाचित भएका हुन् । वरिष्ठ नेतामा वालेन्द्र शाह ‘बालेन’ स्वतः निर्वाचित भए । १५८ केन्द्रीय सदस्यमा ९९ जना निर्वाचित भए भने ५१ जना सभापतिले नै मनोनयन गर्ने व्यवस्था छ ।

निर्वाचनका क्रममा मतदान स्थलमा कमैमात्र देखिएका निवर्तमान उपसभापति डा.स्वर्णिम वाग्ले देशभरका प्रतिनिधिको सर्वाधिक रोजाइमा परे । अर्थमन्त्री समेत रहेका डा.वाग्लेले आर्थिक वर्ष २०८३.०८४ को बजेटमा करको दर हेरफेर गरेको र बजेट किताबमा गम्भीर त्रुटि गरेको भन्दै मिडिया एवम प्रतिपक्षी दलहरुको निशानामा परेका उनी आफ्नै दलभित्र चाहिं सर्वसम्मत बने ।

प्रवासमा रहेका सदस्यहरुको मतदान र इलेक्ट्रोनिक भोटिङ मेसिनबाट भएको मतदानपूर्व नै उपसभापतिका आकांक्षी । विराजभक्त श्रेष्ठले वाग्लेलाई समर्थन गरेपछि पार्टीको तेस्रो वरीयतामा डा।वाग्लेको नाम दर्ता हुन पुग्यो ।

रास्वपा इलाम सभापति दिनेश महत भन्छन्, ‘डा.वाग्ले मतदाताहरुसँग खासै देखिनु भएन, मैले भेट्दै भेटिन । तर वहाँ सर्वाधिक चासोमा हुनुहुन्थ्यो । धेरैले हालका सभामुख डिपी अर्याल र डा.वाग्लेको नाम अत्यधिक लिइरहेका थिए,’ उनले अगाडि भने, ‘डा.वाग्ले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विद्वान व्यक्तित्व हुनुभएकाले देशभरका प्रतिनिधिहरुले धेरै चासो दिइरहेका थिए । उहाँले सर्वाधिक मत ल्याउने वा सर्वसम्मत हुने दुवै संभावना बलियो थियो । खासमा मतदाताले संगठन निर्माणमा उहाँले खेलेको भूमिका र व्यक्तित्व रोजेका हुन् ।’

पार्टीको आन्तरिक व्यवस्थापन, सिद्धान्त, दृष्टिकोण र भावी योजना निर्माणको लिड रोलमा देखिने गरेका डा।वाग्लेलाई पार्टीका नीति, विचार, सिद्धान्त र आदर्शको खाका निर्माणमा प्रमुख जिम्मेवारी नै दिइने गरेको छ । जसको परिणाम स्वरुप वाग्लेले प्रवास र इलेक्ट्रोनिक (विद्युतीय) माध्यमबाट खसेको मतसहित कुल २ हजार ६ सय ५६ मत प्राप्त गरेका हुन् । उनलाई प्रवास समितिका तर्फबाट खसेको शतप्रतिशत मत प्राप्त भएको निर्वाचन समितिले जनाएको छ । हुनत, विराजभक्तले नाम झिकेपछि वाग्ले सर्वसम्मत नै बनेका हुन् ।

पार्टीका संस्थापक लामिछानेको सल्लाहकारकै भूमिकामा रहने गरेका डा।वाग्लेको नाम मतपत्र (उम्मेदवारहरुको सूची) मा पनि एक नम्बरमै रहेको, बहुसंख्यक प्रतिनिधिले चिनेका र लोकप्रिय मानेका साथै बौद्धिक र तार्किक क्षमता भएकाले पनि उनले सर्वाधिक मत पाएको अनुमान गरिएको छ ।

रास्वपा डोटीका सहसचिव एवम संगठन विभाग प्रमुख डिल्लीराज भट्टका अनुसार महाधिवेशन स्थलमा केही सिमित नेताहरुको नाम चर्चामा रहेको र त्यसमध्ये रवी–बालेनपछि डा।वाग्लेको नाम धेरै चर्चामा थियो ।

‘मतपत्रमा उहाँको नाम एक नम्बरमा थियो त्यसैले प्रतिनिधिले छाप लगाउन छुटाएनन् । त्यस बाहेक पार्टीको आन्तरिक राजनीतिमा उहाँ मूल व्यक्तित्व पनि हुनुहुन्छ,’ उनले भने ।

८८ प्रतिशत मत

आफू सर्वसम्मत निर्वाचित भएपछि डा.वाग्लेले सामाजिक संजालमा सबैप्रति आभार व्यक्त गरेका छन् । उनले चार वर्षअघि सभापति रवि लामिछानेले जम्मा २१ जनाको अपरिचित समूह लिएर राष्ट्रिय स्वतन्त्र पार्टीको स्थापना गरेको स्मरण गरे । ‘आज सदस्य संख्या पाँच लाख नाघी भीमकाय बनेको दलको प्रथम राष्ट्रिय महाधिवेशन ऐतिहासिक त रह्यो नै, सोचेभन्दा जटिल पनि बन्न पुग्यो,’ उनले भने ।

डा.वाग्लेले लेखेका छन्, ‘अब पहिलो अनुभवबाट सिक्दै, सुधार्दै अघि बढ्नेछौं। नवनिर्वाचित पदाधिकारी एवं केन्द्रीय सदस्यहरु सबैलाई हार्दिक बधाई । म प्रति अगाध स्नेह र भरोसा राखी सर्वाधिक लोकप्रिय मतसहित (८८प्रतिशत) केन्द्रीय सदस्य एवं निर्विरोध उपसभापति चयन गरिदिनुभएकोमा तमाम प्रतिनिधिहरूप्रति आभार व्यक्त गर्दछु । रास्वपाः सततम् आरोहणम् ।’

बहालवाला अर्थमन्त्री वाग्ले वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्रमा भएको उपनिर्वाचनको बेला रास्वपामा गएका थिए । उनले त्यो उपनिर्वाचनमा विजय हासिल पनि गरे। २०८२ फागुन २१ को निर्वाचनमा पनि तनहुँ क्षेत्र नम्बर १ बाट उनी पुनः निर्वाचित भएका हुन् ।

अन्तर्राष्ट्रिय ख्याति

विश्व बैंक र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा २० वर्ष भन्दा बढी काम गरिसकेका वरिष्ठ अर्थविद् समेत रहेका डा।वाग्ले अन्तर्राष्ट्रिय विकासका ज्ञाता मानिन्छन् । नेपाललगायत विभिन्न देशहरुको नीति, अर्थ र विकासको बहसमा गहिरो प्रभाव पार्दै आएका उनले न्यूयोर्कस्थित यूएनडीपीको एशिया–प्रशान्त क्षेत्रीय ब्युरोको प्रमुख आर्थिक सल्लाहकारका रूपमा ३६ देशको विकास रणनीतिमा प्रत्यक्ष भूमिका खेलिसकेका छन् ।

सन् २०१४ देखि २०१८ सम्म तीन वर्ष राष्ट्रिय योजना आयोगमा सदस्य हुँदै उपाध्यक्ष बनेका डा।वाग्ले साधारण सदस्यका रुपमा रास्वपा प्रवेश गरेका थिए । उनको व्यक्तित्व र क्षमतालाई सम्मान गर्दै रास्वपाले २०८० मंसिर १६ गते ससम्मान उपसभापति बनाएको थियो । ०८३ असारबाट उनी पुनः रास्वपाको निर्णायक भूमिकामा पुगेका छन् ।

रविका सारथी

चार बर्षअघि रास्वपा स्थापनापछि सभापति रवि लामिछानेमाथि राजनीतिक आक्रमण सुरु भयो । सहकारी ठगी प्रकरणमा जेल चलान मात्र भएनन्, दर्जन जिल्ला अदालतमा ठगीका मुद्दा दर्ता भए ।

रविले यसलाई ‘राजनीतिक प्रतिशोध’ र ‘वैकल्पिक शक्ति’ को उदयलाई ब्रेक लगाउन चालिएको कदमका रुपमा व्याख्या गरे । यस्तो अवस्थामा डा.वाग्लेको भूमिका के हुन्छ भन्ने सर्वत्र चासो भइरहेका बेला डिपी अर्याल र डा.वाग्ले रविको बचाउमा सार्वजनिक रुपमै उभिए ।

तत्कालीन सरकारको प्रतिशोधपूर्ण व्यवहारको प्रतिकार मात्र गरेनन्, तार्किक र कानुनसम्मत बहसमै उत्रिएर अवस्था सहज बनाउँदै लगे ।

संकटको डीलमा पुुगेको पार्टी जोगाउन र सभापतिलाई खुुला आकाशमा ल्याउने आन्दोलनको राजनीतिक मेर्चाको नेतृत्व नै वाग्लेले गरे र सरकार साथै कुशासनविरुद्ध खरो प्रतिवाद गर्दै आन्दोलनलाई सशक्त बनाए ।

जसको परिणाम स्वरुप परिवर्तित राजनीतिक घटनासँगै रास्वपालाई पहिलो शक्ति बनाउने अभियानमा उनको भूमिका निर्णायक मानिन्छ । राजनीतिक कूटनीति, कन्भिन्स गर्ने क्षमता साथै संगठन विस्तारका लागि वौद्धिक बहसका कारण पनि डा।वाग्ले देशभरका प्रतिनिधिको रोजाइमा परेको नेताहरु बताउने गर्छन् ।

उनलाई अब बजेट मार्फत आफैले अघि सारेको आर्थिक सुधारको अभियान अगाडी बढाउन थप मदत पुग्ने आकलन गरिएको छ ।