काठमाडौँ । नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको सय दिने कार्यकालको तीव्र आलोचना गर्दै समीक्षा सार्वजनिक गरेको छ । एमाले महासचिव शंकर पोखरेलद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकारले सय दिनमा सय काम गर्ने वाचा गरे पनि यथार्थमा यो अवधि पूर्णतः असफल र निराशाजनक रहेको दाबी गरिएको छ ।
बिहानीले दिनको संकेत गर्छ भनेझैँ सरकारको सुरुवाती सय दिनले मुलुकको आर्थिक संकट समाधान गर्न र विधिको शासन कायम गर्न नसक्ने स्पष्ट पारेको एमालेको ठहर छ ।
एमालेले सरकारको सय दिने कार्यकाललाई सुशासन र शासकीय सुधारका दृष्टिकोणले ‘पूर्णतः असफल’ को संज्ञा दिएको छ । सस्तो लोकप्रियता र चर्चामा मात्रै सरकारको रुचि रहेको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘बालेन–सरकारको सय दिने कार्यकाल सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्णतः असफल देखिन्छ । प्रधानमन्त्री र मन्त्रीका निजी सचिवालयहरू नै आर्थिक स्वार्थ र भ्रष्टाचारका घटनाहरूमा खुलेआम जोडिएका प्रमाणहरू एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।’
निर्वाचन र पदबहालीका समयमा प्रस्तुत गरिएको सय बुँदे वाचापत्र र आमजनताको उच्च अपेक्षाअनुरूप काम गर्नुको साटो सरकार विवादास्पद निर्णयहरूमा अल्झिएको एमालेको आरोप छ । योजनाबद्ध र पूर्ण गृहकार्यसहित आएको भान पारिए पनि परिणामका आधारमा विश्लेषण गर्दा सरकारका कामहरू अत्यन्त फितलो र अपरिपक्व देखिएको विज्ञप्तिमा उल्लेख छ । एमालेले सरकार नीतिगत र संवैधानिक विचलनको बाटोमा हिँडेको भन्दै तीव्र असन्तुष्टि जनाएको छ ।







