+

सडक विस्तार मात्रै समाधान होइन, सार्वजनिक यातायात र पैदलमैत्री पूर्वाधार आवश्यक छ : गगन थापा

२६ असार २०८३, शुक्रबार २०:४७

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सडक विस्तारलाई मात्रै विकासको मापदण्ड मान्ने सोचबाट बाहिर निस्कनुपर्ने बताएका छन्। उनले सडक सुरक्षा व्यवस्थापनका लागि पूर्वाधार, सार्वजनिक यातायात र सचेतनात्मक परिवर्तनमा जोड दिनुपर्ने बताए।

शुक्रबार नेपाली कांग्रेसको ‘ग्रीन टेबल’ कार्यक्रममा ‘सडक सुरक्षा व्यवस्थापन ः दण्डात्मक नियन्त्रण कि सचेतनात्मक रूपान्तरण?’ विषयमा छलफल गर्दै सभापति थापाले सडक विस्तारले मात्रै यातायात समस्या समाधान नहुने धारणा राखे।

उनले भने, ‘सडक विस्तार गरेर यातायात छिटो पुगिन्छ, सजिलो हुन्छ, सहर राम्रो हुन्छ भन्ने हामीलाई लागेको छ। यो समृद्ध सहरको मानक हो भन्ने सोचबाट हामी निस्किनुपर्छ। बाबुराम प्रधानमन्त्री हुँदा सडक विस्तारको व्यापक कामहरू भए। त्यतिबेला हामी सबैलाई अब काठमाडौं स्वर्ग हुन्छ भन्ने लागेको थियो।’

उनले सडक विस्तारसँगै सार्वजनिक यातायात, फुटपाथ, साइकल लेनलगायतका पूर्वाधारमा पर्याप्त ध्यान नदिँदा समस्या कायमै रहेको बताए।

‘त्यतिबेला हामीले लेखेका थियौँ, सडक विस्तारले मात्रै ट्राफिकको समस्या समाधान हुँदैन। काठमाडौंमा सार्वजनिक बसको प्रयोग बढेपछि मोटरसाइकलको प्रयोग घट्छ र विस्तारै समस्या समाधान हुँदै जान्छ,’ उनले भने।

थापाले सडक निर्माण गर्दा पैदलयात्री, बालबालिका, ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको सहजतालाई प्राथमिकता नदिएको बताए।

‘हामीले सडक विस्तार गर्यौँ, फुटपाथ बनाएनौँ। फुटपाथ बनाए पनि सानो बनायौँ। बालबालिका, ज्येष्ठ नागरिकका लागि सहज हुने गरी सोचेनौँ। फरक क्षमता भएका व्यक्तिहरूलाई त हेर्दै हेरेनौँ। साइकलको बारेमा पनि सोच्दै सोचेनौँ,’ उनले भने।

उनले सडक दुर्घटनाका कारण ठूलो मानवीय र आर्थिक क्षति भइरहेको उल्लेख गरे। थापाका अनुसार सडक दुर्घटनामा दैनिक रूपमा हुने मृत्यु र घाइतेको संख्या गम्भीर विषय बनेको छ।

उनले भने, ‘हामीले फुटपाथ विस्तारको परियोजना २०७० सालमा सुरु गर्यौँ तर त्यसको महत्व बुझेनौँ। सात–आठ जनाको मृत्यु हुने र २५ देखि २८ हजारसम्म घाइते हुने अवस्था आयो।’

उनले सडक दुर्घटनामा १५ देखि ४९ वर्ष उमेर समूहका मानिसहरू बढी प्रभावित हुने र यसले परिवारलाई पुनः गरिबीमा धकेल्ने बताए।

‘सबैभन्दा बढी पीडा के भने १५ देखि ४९ वर्षको उत्पादनशील उमेर समूह नै सबैभन्दा बढी दुर्घटनामा पर्छ। गरिबीबाट निस्किएको परिवार सडक दुर्घटनाका कारण फेरि गरिबीमा धकेलिन्छ,’ उनले भने।

कार्यक्रममा सडक सुरक्षा विज्ञ डा. भगवती सेढाई, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक भीमप्रसाद ढकाल र यातायात इन्जिनियर सागर पन्त वक्ताका रूपमा सहभागी थिए। कार्यक्रमको सहजीकरण जनस्वास्थ्य विज्ञ डा. रामानन्द पण्डितले गरेका थिए।