रुपन्देही । रुपन्देहीको मायादेवी गाउँपालिकास्थित गुरुहनियाँमा लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली प्रहार गरेको छ। लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरी टोलीले कारोबारीमाथि गोली चलाउँदा एक जना भारतीय नागरिक घाइते भएका छन्।
मोटरसाइकलमा सवार रहेका दुई भारतीय नागरिक लागुऔषधको कारोबारमा संलग्न रहेको पाइएपछि प्रहरीले उनीहरूलाई घेरा हालेको थियो। सोही क्रममा प्रहरीले आत्मरक्षा र नियन्त्रणका लागि एक राउण्ड गोली प्रहार गरेको थियो, जसका कारण एक जनाको खुट्टामा गोली लागेको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी सुवास बोहराले जानकारी दिएका छन्।
प्रहरीले घटनास्थलभबाट दुई सय ग्रामभन्दा बढी खैरो हेरोइन (ब्राउन सुगर) बरामद गरेको छ। साथै, उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली समेत बरामद गरिएको एसएसपी बोहराले बताए। पक्राउ परेका दुवै भारतीय नागरिक हुन् र यस घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


