+

बझाङ जीप दुर्घटना : तीन जनाको मृत्यु, १३ घाइते

२७ असार २०८३, शनिबार २२:११

धनगढी । बझाङको केदारस्यूँ गाउँपालिका–७ सुङगरेमा भएको बोलेरो जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ।

प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीका अनुसार दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा दुर्गाथली गाउँपालिका–६ की ६० वर्षीया केलादेवी महत, सोही स्थानका ६० वर्षीय चक्र महत र केदारस्यूँ गाउँपालिका–७ की बिमला धामी रहेका छन्।

प्रजिअ केशरीले गम्भीर घाइतेहरूको थप उपचारका लागि हेलिकोप्टरमार्फत अन्यत्र लैजाने तयारी भइरहेको जानकारी दिए।

उनले भने, ‘घाइतेको अवस्था गम्भीर भएकाले थप उपचारका लागि बाहिर लैजान हेलिकोप्टर पठाइएको छ। घटनास्थल भौगोलिक रूपमा निकै विकट र टाढा भएकाले उद्धारमा समस्या भइरहेको छ।’

उनका अनुसार जीप सडकबाट करिब ३ सय मिटर तल खसेको छ। दुर्घटनामा जीपमा कति जना सवार थिए भन्ने यकिन विवरण भने अझै प्राप्त हुन सकेको छैन।

घटनास्थलमा स्थानीय र सुरक्षाकर्मीको टोली उद्धारमा खटिएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।