काठमाडौं। स्वदेशी कृषि उत्पादनको उचित बजार मूल्य नपाएको र लागतसमेत नउठेको भन्दै आक्रोशित किसानहरूले बुधबार काठमाडौँको माइतीघर मण्डलामा गोलभेँडा (टमाटर) सडकमै फालेर आक्रामक विरोध प्रदर्शन गरेका छन्।
काठमाडौँ उपत्यका र आसपासका क्षेत्रका कृषि फार्मबाट गोलभेँडा बोकेर आएका किसानहरूले राज्यको उदासीन कृषि नीतिका विरुद्ध सडक राताम्मे हुने गरी आफ्ना उत्पादन पोखेका हुन्।
प्रदर्शनका क्रममा किसानहरूले बजारमा व्याप्त बेथितिको अन्त्यका लागि विभिन्न मागहरू अघि सारेका छन्। उनीहरूले ‘बिचौलियाको खेल अन्त्य गर’, ‘किसानहरूलाई सही बजार व्यवस्थापन गर’, ‘गोलभेँडा तथा अन्य तरकारीहरूको न्यूनतम समर्थन मूल्य तोक’ र ‘कृषि बिमा लागू गर’ जस्ता नारा तथा मागहरू लेखिएका प्लेकार्ड र पम्प्लेट बोकेर शान्तिपूर्ण तर आक्रोशपूर्ण प्रदर्शन गरेका थिए।
आन्दोलनमा उत्रिएका किसानहरूका अनुसार बजारमा बिचौलियाहरूको तीव्र दबदबाका कारण उत्पादक किसानले आफ्नो मिहिनेत र लगानीको प्रतिफल पाउन सकेका छैनन्।
एकातिर किसानको खेतबारीमै कृषि उपज कुहिने वा कौडीको भाउमा बेच्नुपर्ने बाध्यता छ भने अर्कोतिर बिचौलियाकै कारण उपभोक्ताले भने बजारमा महँगो मूल्य तिर्नुपरेको छ।
यसका साथै छिमेकी मुलुकबाट बिनाकुनै अवरोध र परीक्षण ठूलो परिमाणमा भित्रिने सस्तो तरकारीका कारण पनि नेपाली उत्पादनले बजार पाउन छाडेको उनीहरूको गुनासो छ।
जोखिमका बेला किसानलाई राहत दिने कृषि बिमा नीति प्रभावकारी नभएको र बजारको सुनिश्चितता नभएको भन्दै उनीहरूले सरकारले तत्काल किसानमैत्री नीति र न्यूनतम समर्थन मूल्य तोकेर स्वदेशी उत्पादनको संरक्षण नगरे आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन्।













