जनकपुर। उच्च अदालत जनकपुरले २०८२/०८३ मा जम्मा ७०.८८ प्रतिसत मुद्दा फैसला गर्न सफल भएको छ।
बुधबार पत्रकारसम्मेलन गर्दै उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधिश टेकनारायण कुँवरले आर्थिक वर्ष २०८२/०८३ मा अदालतबाट भएका कार्यसम्पादन बारे जानकारी गराएका छन्।
सो क्रममा उनले वर्ष भरिको तथ्यांक प्रस्तुत गर्दै वार्षिक लक्ष्य अनुसार १०१.६० प्रतिसत मुद्दा फैसला गर्न सफल भएको जानकारी दिए।
उनका अनुसार यस अवधिमा जम्मा ४,५४६ वटा मुद्दा फैसला गर्ने लक्ष्य रहेकोमा जम्मा मुद्दा फैसला भएको संख्या ४,६१९ रहेको छ। यस अवधिमा विगतका २ वर्ष नाघेका बाँकी मुद्दाहरु सबै फैसला भएको छ। २०८२/०८३ मा जम्मा ६,५१६ वटा मुद्दा दर्ता भएकोमा ४,६१९ वटा मुद्दा फैसला भएको हो। आब फैसला हुन बाँकी रहेको मुद्दाको संख्या १,८९७ रहेको छ।
गत ५ वर्षको तुलनात्मक अवस्था हेर्दा उच्च अदालत जनकपुरले आर्थिक वर्ष ०७८/०७९ मा ४९.१५ प्रतिसत मुद्दाहरुको फैसला गरेको थियो। त्यस्तै, आर्थिक वर्ष २०७९/८० मा ४४.१७ प्रतिसत मुद्दाको फैसला भएको थियो। आर्थिक वर्ष २०८०/०८१ मा सबैभन्दा बढि ७१.१३ प्रतिसत मुद्दाको फैसला भएको थियो। यता, आर्थिक वर्ष २०८१/०८२ मा जम्मा ६६.०५ प्रतिसत मुद्दाको फैसला भएको थियो भने २०८२/०८३ मा ७०.८८ प्रतिसत मुद्दाको फैसला भएको हो।
उच्च अदालत जनकपुरले प्रविधिको प्रयोगमा जोड दिएकोले मुद्दाहरुको फैसला पहिले भन्दा तीव्र गतिमा हुन लागेको मुख्य न्यायाधिश कुँवरले जानकारी दिए। उनले इजलासको प्रत्यक्ष प्रसारण युटुबमार्फत गर्ने गरेकोमा केही गुनासोहरु आउने गरेकोले सम्बन्धित मुद्दाका व्यक्ति तथा वकिलको अनुमति लिएर मात्र प्रत्यक्ष प्रसारण गरिने गरेको प्रष्ट पारे।


