काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशी जुत्ता-चप्पल उद्योगको सबलीकरण, आयात प्रतिस्थापन, आन्तरिक रोजगारी सिर्जना तथा निर्यात प्रवर्द्धनका लागि सरकारले आवश्यक नीतिगत र संस्थागत सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपाल (एफएमएएन) का पदाधिकारी तथा सदस्यहरूसँग भएको विशेष छलफलका क्रममा उहाँले यस्तो धारणा राखेका हुन्।
छलफलका क्रममा प्रधानमन्त्री शाहले संघीय, प्रदेश र स्थानीय गरी तीनै तहका सरकारको आपसी समन्वयमा जुत्ता निर्माणसम्बन्धी सीपमूलक तालिमहरू सञ्चालन गरिने बताए। स्वदेशी उत्पादनको बजार विस्तारका लागि नेपाली जुत्ता-चप्पलको ब्रान्डिङ र मार्केटिङ गर्न निजी क्षेत्रलाई विशेष प्रोत्साहन गरिने उनको भनाइ थियो।
यसका साथै उद्योगहरूको वास्तविक उत्पादन क्षमताका आधारमा कच्चा पदार्थ आयातको सीमा निर्धारण गर्ने, ट्र्याकिङ तथा अभिलेख व्यवस्थापनलाई थप प्रभावकारी बनाउने र स्वदेशी उत्पादनको प्रयोग तथा बजार प्रवर्द्धनमा सरकारले विशेष जोड दिने उनले स्पष्ट पारे।
सो अवसरमा एशोसिएसनका पदाधिकारीहरूले भारतका विभिन्न नाकाहरूबाट हुने अवैध चोरी पैठारी नियन्त्रण गर्न र कर तथा भ्याटको दायरा बाहिर रहेका बहुराष्ट्रिय एवं राष्ट्रिय ब्रान्डहरूलाई तत्काल कानुनी दायरामा ल्याउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।
व्यवसायीहरूले गुणस्तरहीन तथा सस्तो जुत्ता-चप्पलको आयातमा कडाइ गर्न र आयातित फुटवेयर उत्पादनहरूमा अनिवार्य गुणस्तर परीक्षणको व्यवस्था लागू गर्न समेत माग गरेका छन्।
सरकारका तर्फबाट आवश्यक नीतिगत संरक्षण र उद्योगमैत्री वातावरण निर्माण गरिए स्वदेशी जुत्ता-चप्पल उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन भई मुलुकलाई आत्मनिर्भर बनाउन सक्ने विश्वास उनीहरूले दिलाएका छन्।
छलफल कार्यक्रममा एशोसिएसनका अध्यक्ष सुरज बन्जाडे, निवर्तमान अध्यक्ष रुद्र न्यौपाने, महासचिव निर्मल भट्टराई, सल्लाहकार कालिदास गौतम तथा सदस्य एवं प्रतिनिधिसभा सदस्य विदुषी राणा लगायतका उद्योगी व्यवसायीहरूको सक्रिय सहभागिता रहेको थियो।


