+

माैसम पूर्वानुमान : देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२ श्रावण २०८३, शनिबार ०६:५८

काठमाडौं। जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भूभागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विशेष अपिल गरेको छ।

हाल देशभर मनसुनी वायुको प्रभाव तीव्र रहेको र मनसुनको न्यून चापीय रेखा नेपालको तराई क्षेत्र आसपास सरेकाले आगामी तीन दिनसम्म देशका धेरैजसो स्थानमा उल्लेखनीय वर्षा हुने अनुमान गरिएको छ।

मौसमविद् सञ्जीव अधिकारीका अनुसार मनसुनी रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि नेपालको तराई क्षेत्र नजिक र पूर्वतर्फ सरदर स्थानकै आसपास रहेकाले वर्षाको गतिविधि बढेको हो।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभागका थोरै स्थानमा भारी वर्षा हुनेछ भने एक–दुई स्थानमा निकै धेरै वर्षाको सम्भावना छ। यसैगरी कर्णाली र सुदूरपश्चिम प्रदेशका पनि केही सीमित क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमान विभागले गरेको छ।

सम्भावित ठूलो वर्षाका कारण पहाडी भेगमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम उच्च हुने भएकाले प्रभावित क्षेत्रका बासिन्दालाई विशेष सावधानी अपनाउन सचेत गराइएको छ।

मौसमको यो प्रतिकूल अवस्थाले नागरिकको दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहणका साथै सडक तथा हवाई यातायातमा समेत प्रत्यक्ष असर पार्न सक्ने देखिएको छ। त्यसैले विभागले सबैमा मौसमसम्बन्धी पछिल्ला र आधिकारिक सूचनाहरू नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभरको आकाश सामान्यदेखि पूर्ण रूपमा बादलले ढाकिनेछ। देशका अधिकांश पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ भने उच्च हिमाली क्षेत्रहरूमा वर्षासँगै हिमपातको समेत सम्भावना रहेको छ। यो क्रम रातिको समयमा पनि जारी रहने र देशभर अधिकांश स्थानमा बदली भई मेघगर्जनसहित पानी पर्नेछ।

विशेष गरी रातिको समयमा कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षा हुनसक्ने भएकाले रातिको समयमा थप उच्च सतर्कता अपनाउन विभागले जोड दिएको छ।