+

सम्पत्ति शुद्धीकरण विभागद्वारा सात मुद्दा दायर, ११८ अर्बभन्दा बढी बिगो दाबी

८ श्रावण २०८३, शुक्रबार ०८:२५

काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले गत आर्थिक वर्ष २०८२/८३ मा सातवटा मुद्दा दायर (अभियोजन) गरेको छ। विभागले बिहीबार विवरण सार्वजनिक गर्दै ती मुद्दामार्फत कुल १२१ जनालाई प्रतिवादी बनाएको जनाएको छ।

विभागका अनुसार प्रतिवादीहरूविरुद्ध कुल एक खर्ब १८ अर्ब पाँच करोड बराबरको बिगो दाबी गरिएको छ।

विभागमा प्राप्त हुने सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी उजुरी वा सूचनाहरूलाई सुरुमा ‘स्क्रिनिङ कमिटी’मा छलफल गराइन्छ। प्रारम्भिक अनुसन्धान आवश्यक देखिएमा अनुसन्धान अधिकृत तोकेर कानुनी प्रक्रिया अगाडि बढाउने व्यवस्था रहेको छ।

विभागभित्र अनुसन्धान र अभियोजनको कामलाई व्यवस्थित बनाउन चारवटा अनुसन्धान शाखाका साथै कानुन तथा परामर्श इकाइ, प्रशासन तथा योजना शाखा, अनुसन्धान समन्वय शाखा र प्रहरी शाखा कार्यरत छन्।

विभागले मुख्यगरी राजस्व चुहावट, भन्सार, अन्तःशुल्क र व्यापारसँग सम्बन्धित ‘मनी लाउन्डरिङ’ तथा सम्पत्ति शुद्धीकरणका कसुरहरूमा अनुसन्धान गर्दै आएको छ। पछिल्लो समय विभागले अध्ययन, अनुसन्धान र तहकिकातको प्रक्रियालाई थप तीव्र र प्रभावकारी बनाएको जनाएको छ।