No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

कुनै परियोजनाका निम्ति सत्ता गठबन्धन बनेको होइनः प्रचण्ड

0

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै एउटा परियोजनालाई लिएर गठबन्धनलाई भत्काउने प्रयास भइरहेको भन्दै आपत्ति जनाएका छन् ।

२७औं जनयुद्ध दिवसको अवसरमा आइतबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले कुनै परियोजनाका निम्ति सत्ता गठबन्धन नबनेको बताएका हुन् ।

गठबन्धन संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएको बताए । उनले भने,‘यो गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि बनेका हो । हामीले कुनै देश विशेषसँग गरेका सहमति सम्झौता वा परियोजनाका आधारमा गठबन्धन बनाएको होइन । गठबन्धन सृदृढ हुँदै जाने भनेर बनाएको हो । सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई अपील गर्न चाहन्छु कि सबैले यो कुरालाई विचार गरौं कि यो संविधान लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि गरिएको हो । आज कसैले कुनै एउटा परियोजनालाई लिएर गठबन्धनलाई भत्काउन खोज्छ भने त्यसको ऐतिहासिक धरातल भत्काउन खोजे जस्तै हुन्छ । जुन मूल्यमान्यतामा रहेर बनाएको हो त्यसैमा दृढ रहौं । जनता पनि त्यही विश्वास र भरोसमा छन् । जनताको विश्वास र भरोसालाई कम आँकलन नगरौं।’

प्रचण्डले प्रतिगमन, प्रतिक्रान्ति र माओवादी आन्दोलनलाई बदनाम गर्ने षडयन्त्रलाई परास्त गर्न सबै माओवादी घटकहरुलाई एकजुट हुन आह्वानसमेत गरे । उनले यतिबेला प्रतिक्रियावादी माओवादी र प्रचण्डलाई बदनाम गराउने खेलमा लागेको बताए ।

उनले भने,‘हिजो माधवजी, म र प्रधानमन्त्रीबीच छलफल भयो । मिडियामा सभामुखलाई प्रचण्डले भनेर दश दिन संसद सारियो भनेर । आखिर प्रधानमन्त्रीले कोभिडका कारण सारौं भन्नुभयो र हाम्रै अगाडि संचारमन्त्रीले सभामुखलाई अगाडि फोन गरेर सारौं भन्नुभयो । प्रधानमन्त्रीले नै सार्न लगाउनुभएको हो । याहाँ त प्रचण्डलाई कसरी बदनाम गराउन सकिन्छ भन्नेहरु लागेका छन् ।’

प्रकाशित: १ फाल्गुन २०७८, आईतवार ०४:१७

Leave a Reply