No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

युक्रेनको ‘एन्टीरशियन’ राष्ट्रवाद बुझ्नुअघि नेपाल-भारत बुझ्नुहोस्

0

नारायण गाउँले ।

अलि टाढा बस्ने सबैको आँखामा नेपाल र भारतबीच केही सय वर्षमात्रै होइन, पौराणिक कालदेखिकै धार्मिक-सांस्कृतिक सम्बन्ध छ । जाति, धर्म, भाषा, संस्कृति, रगत कति हो कति कुरामा सम्बन्ध छ । आज पनि देशको सबै जसो आयात-निर्यात भारतबाटै हुन्छ र नेपालमा सड़कदेखि विद्युतीकरणसम्म भारतीय सहयोग छ । औपचारिक-अनौपचारिक रूपमा लाखौं नेपाली भारतमा रोजगारीमा छन् । यहाँसम्म कि एक-आपसमा बिना भिसा आवतजावत, काम र बसोबास गर्न सकिन्छ । नेपाली भाषा भारतीय संविधानमैं मान्यताप्राप्त छ । नेपाली मूलका लाखौं भारतीय छन् भने भारतीय मूलका लाखौँ नेपाली पनि छन् । लाखौं नेपाली नागरिक त भारतीय सेनामैं पनि छन् । विश्वको कुनै पनि देशले सेना या सुरक्षा निकायमा शत्रु देशका नागरिकलाई नियुक्ति त परको कुरा, पहुँच पनि दिँदैनन् । यसले पनि नेपाल-भारत मित्र देश हुन् भन्ने देखिन्छ । यस्तोमा नेपाल-भारत एकअर्काविरुद्ध उभिने कल्पना पनि असम्भव देखिन्छ ।

तर, नेपालभित्रको राष्ट्रवादमा भारतविरोधी गन्ध दिनहुँ बढ्दो छ र यसमा हाम्रा राजनैतिक दलको अलि चर्कै योगदान पनि छ । धेरै नेपालीलाई लाग्छ, भारतको नियत नै हामीलाई दुःख दिनु हो । लाग्छ, भारत यहाँका कमजोरीमा खेल्न चाहन्छ र हाम्रो राजनीतिलाई म्यानेज गर्न चाहन्छ । हरेक देशका आआफ्नै सीमा समस्या छन्, पक्कै नेपालको पनि छ । तर हामीलाई दिनदिनै भारतले सीमा मिच्दै काठमाडौंसम्मै आइपुग्छ भन्ने लाग्छ । भारतसँग भएका हरेक सन्धि र सम्झौता आसमान छन् र राष्ट्रघाती छन् भन्ने हामीलाई लाग्छ । हामीलाई खुला सीमाका फाइदा-बेफाइदा दुबै अध्ययन गरेर बस्ने फुर्सद र जाँगर छैन । कसैले सीमामा काँढे तार लगाउँछु भन्यो भने हामी गास काटेर दिन तैयार छौं । दिनदिनै आवत-जावत र नातासम्बन्ध भएका तराईका केही नागरिकलाई छोडेर । कसैले भारतविरुद्ध सुरुङ् युद्ध गर्छु भन्यो भने हामी आफ्ना कलिला बालबालिकालाई कलम थुतेर बन्दूक भिराउन उद्यत हुन्छौं । हामीलाई लाग्छ, भारत कुनै न कुनै दिन नेपाललाई क्वाप्प निल्ने दाउ हेरेर बसेको छ ! हामी भारतसँग असुरक्षित महसुस गर्छौं ।

हामी के गर्छौं ? भारतबाहेकका देशसित अलायन्स बनाउन पाए हुन्थ्यो भन्छौं । भारतको एउटा नेताले यहाँको कुनै नेतालाई हाम्रो मित्र हो भन्यो भने त्यो सोझै दलाल हुन्छ तर हाम्रा प्रधानमन्त्रीसम्म चिनियाँ पार्टीसँग प्रशिक्षणमा बसेको फोटो हेरेर हामीलाई गर्व लाग्छ । भारत र पाकिस्तान क्रिकेट खेल्दा पाकिस्तानको समर्थन गर्छौं । चुनाब नजिक आयो भने भारतविरुद्ध अझ चर्को बोल्नेलाई भोट दिन्छौं । नेपाली भूमिबाटै भारतीय विमान अपहरण भएका र नेपाली भूमि प्रयोग गरेर आतङ्ककारीहरू भारत पसेका उदाहरण छन् तर भारतले हामीसँग सुरक्षा चासो अभिव्यक्त गरेको कसलाई मन पर्ला र ?

आखिर किन यस्तो हुन्छ ? के पहिलो प्याराग्राफ अर्थात् नेपाल र भारत अभिन्न मित्र हुन् भन्ने तथ्य गलत हो ? या भारतविरोधी राष्ट्रवाद गलत हो ? या दुबै गलत हुन् ? के नेपालमा विकास हुने भारतविरोधी भावनामा हाम्रा दलको मात्रै हात छ, या भारत आफैको पनि हात छ ? हाम्रो राष्ट्रवाद अन्धो हो या उसको दादागिरी यसको मुख्य कारण हो ? के हामीले चीन या पाकिस्तानसँग बढाउने सम्बन्ध आत्मनिर्भर बन्नका लागि हो या भारतीय सुरक्षालाई ध्वस्त बनाउन ? यसको उत्तर सबैले एउटै दिन सक्दैनन् । हरेक नागरिकको बुझाइ र व्याख्या फरक हुन्छ । अलिकति सत्य सबै बुझाइमा हुन सक्छ ।

रसिया र युक्रेनबीच त झन नेपाल र भारतभन्दा सघन सांस्कृतिक-ऐतिहासिक सम्बन्ध छ । दुबै नङ् र मासुजस्तै देखिन्छन् । तर राष्ट्रवादचाहिँ ठ्याक्कै नेपालजस्तो छ । ‘रसिया-विरोधी’ भावनाले सिर्जित देखिन्छ ।

धेरै युक्रेनीहरूलाई जहिले पनि रसियाले निल्न सक्ने डर छ । तिनीहरू रसियाबाहेकका अन्य देशलाई कुनै फाइदा नभए पनि मित्र ठान्छन् र रसियालाई शत्रु । उनीहरू रशियन प्रभावबाट उम्केर युरोप र अमेरिकासँग जोडिन चाहन्छन् । त्यसका कारण पनि होलान् । हामीलाई माओवादी विद्रोहमा भारतले सहयोग गरेको भन्ने लाग्छ, युक्रेनमा त विद्रोहीलाई रसियाको सैन्य सहयोग नै छ । लाखौं युक्रेनी नागरिकलाई रसियाले नागरिकता नै बाँडेको थियो । आठ वर्षअघि क्राइमिया लिएको त सुन्नुभएकै होला । अहिले दुई वटा प्रान्तलाई त देशकै दर्जा दिएर तिनैलाई जोगाउने नाममा सैनिक कारवाहीकै अवस्था छ ।

रसियाको दादागिरी र युद्धउन्माद त जिम्मेबार छ नै, अहिले युक्रेनीहरूको यही उग्र राष्ट्रवादले गर्दा देशको अस्तित्व नै नरहने अवस्था सिर्जना भएको छ । रसिया जस्तो शक्तिशाली देशले आफ्नो आँगनमा हुर्किँदै गरेको ‘एन्टी-रशियन’ राष्ट्रवादलाई किन सहन्थ्यो र ? यद्यपि बीस पच्चीस वर्ष कोसिस गर्दा पनि युक्रेनले नाटोको सदस्यता पाउन सकेको थिएन र तत्काल पाउने सम्भावना पनि देखिन्नथ्यो, तर उसको स्पष्ट उद्देश्य त्यही थियो । यद्यपि एउटा सार्वभौम राष्ट्रले कुन अलायन्सको सदस्यता लिने या नलिने भन्ने आफै निर्णय गर्न पाउने हक हुन्छ भन्ने तर्क उठ्ला तर यो जियोपोलिटिकल राजनीतिमा सबैले त्यो हक निर्बाध उपभोग गर्न पाउने सम्भावना न्यून छ ।

आज त्यही राष्ट्रवादका कारण साठी वर्षे युक्रेनी नागरिक भरूवा बन्दुक बोकेर रूसी मिसाइलसँग लड्दै छ । बेलायती गुप्तचर संस्थाले रसियाले आक्रमण गर्दै छ भन्ने सूचना युक्रेनलाई महिनौ अघि दिएको थियो । बेलायत र अमेरिकाले पहिले नै अन्य सहयोग गर्ने तर युद्ध भएमा सैनिक नपठाउने बताएका थिए । विश्वशक्ति रसियालाई तीन-चार दिन पनि रोक्न सक्ने क्षमता आफूसँग छैन भन्ने युक्रेनलाई थाहा थियो । र पनि राष्ट्रियता भन्ने चीज यस्तै हुने रहेछ । यस्तो खालको राष्ट्रियताले पक्कै देशलाई बचाउन सक्दैन ।

आफ्नै आँखाले मात्रै हेर्दा र एकछिन अरूको ठाउँमा राखेर हेर्दा देखिने दृश्य फरक हुन्छन् । तर लिन सकिने पाठ भने उस्तै र उही हुन सक्छ । लिने नलिने या कति लिने भन्ने त ग्राहकको जिम्मा हो ! लाग्छ, यो युग बल र बुद्धिको हो । दुबै भए उत्तम, कम्तिमा एउटा भए पनि राम्रो तर दुबै नहुनेहरूलाई त के भन्नु र !

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार १६:०३

Leave a Reply