No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

के कुनै देशले छिमेकी देशको सभ्यता, शहर र मान्छे मारेर आफ्नो सहयोगी बनाउन सक्ला ?

0

नारायण गाउँले ।

युक्रेनमाथि आक्रमण गर्नु ठीकअघि,
-पश्चिम र नाटो दुबै विभाजित मनस्थितिमा थिए । ब्रेग्जिटले राजनैतिक रूपमा युरोपियन युनियन कमजोर थियो भने महामारीले अर्थतन्त्रलाई कमजोर बनाएको थियो ।

-अमेरिका, युरोपियन युनियन र नाटोबीच एक प्रकारको दूरी बढ्दै थियो । खासगरी ट्रम्पले अमेरिकाले मात्रै सबैको सुरक्षा खर्च बेहोर्न नसक्ने भनेर कटु टिप्पणी गरेपछि अमेरिकाबाट अलग भएर युरोपको छुट्टै सुरक्षा संयन्त्र बनाउनेसम्मका बहस शुरु भएका थिए । जर्मनी र अमेरिकाबीच त महिनौंसम्म संवाद पनि नभएका खबर पढिन्थ्यो ।

-नाटोभित्र कुल जिडीपीको २% सुरक्षामा खर्च गर्नुपर्ने नियम जर्मनीले बेवास्ता गर्दै ज्यादै न्यून खर्च गर्ने गरेको थियो । जसले गर्दा सदस्यहरूबीच देखिने गरी नै असन्तुष्टि बढ्दो थियो ।

-फिनल्याण्ड लगायतका केही युरोपियन देश नाटोमा पस्न हिचकिचाई रहेका थिए भने टर्की लगायतका केही सदस्य नाटोका परिधि नाघेर रसियासँग हतियार खरिद गर्न सुरु गरेका थिए ।

-नाटोको सदस्य बन्न अनेक शर्तका अलावा सङ्गठनका सबै सदस्यको सहमति आवश्यक हुन्छ । युक्रेनलाई सदस्य बन्नबाट नाटोभित्रैका देशले रोकिराखेका थिए र तत्काल यसको सम्भावना थिएन ।
-रसियासँग व्यापारिक स्तरमा युरोपको सुमधुर सम्बन्ध थियो । कैयौं रसियन ब्याङ्कहरू, ठूला तेल र खनिज कम्पनीहरू लण्डन स्टक एक्सचेन्जमा लिस्टेड थिए । रसियामा अमेरिकादेखि युरोपिन कम्पनीको ठूलो लगानी थियो ।

-ग्रीस, टर्की, इटाली, हङ्गेरी, बुल्गेरिया, स्लोभाकियाजस्ता देशहरू रसियासँग मधुर सम्बन्ध विस्तार गर्दै थिए । कतिसम्म भने रसियाविरुद्ध उठ्ने कुनै प्रस्तावविरुद्ध तिनले मतदान गर्ने स्थिति थियो ।

-जर्मन-रसियन सम्बन्ध मित्रवत् थियो । तेलका पाइप लाइनदेखि कृषि क्षेत्रसम्म ठूलो व्यापारिक साझेदारी थियो । अन्तिम समयसम्म अमेरिकाके दबाब दिँदा समेत जर्मनीले नाकाबन्दी बारे खुलेर बोलेको थिएन । जर्मन नागरिकहरूमा पनि रसियाप्रति नरम भावना रहेको मानिन्छ ।

-ईयुको दोस्रो ठूलो पावरहाउस फ्रान्सको सम्बन्ध पनि रसियासँग खराब थिएन । पछिल्लो समयसम्म पनि दुबै राष्ट्रप्रमुख संवादमैं थिए ।
-पोल्याण्ड, चेक रिपब्लिक, लाटभियाजस्ता पूर्वसोभियत र बाल्कन देशमा भने रसियाविरोधी भावना थियो । आफ्नो आन्तरिक राजनीतिमा रसियन माइक्रो म्यानेजमेंटदेखि भोलि रसियाले आक्रमण गर्न सक्ने डरले तिनलाई एन्टीरसियन बनाएको थियो । यो जिओपोलिटिकल समस्या आफैमा विकराल भने थिएन । केही देश बलपूर्वक सोभियत सङ्घको सदस्य बनाइएको रिस अहिलेसम्म पालिरहेका थिए ।

-व्यापारमात्र होइन, खेलकुददेखि पर्यटनसम्म युरोप र रसियाबीच नागरिक स्तरमा घनिष्ट सम्बन्ध विकास हुँदै थियो ।
-सामान्य असमझदारी र असहमति रहे पनि युरोपले रसियाबाट तत्काल कुनै सुरक्षा थ्रेट महसुस गरेको थिएन । त्यसैले अमेरिकी सुरक्षा छत्रछायाँ जरूरी छैन भन्ने बहस सुरु भएको थियो । इराकदेखि अफगानिस्तान युद्धविरुद्ध युरोपकै नागरिकहरू खुलेर आएका थिए । बेलायतमैं पनि इराक युद्धमा अमेरिकासँग सहभागी भएको लेबरले त्यसयता चुनाब जित्न सकेको छैन भने तत्कालीन प्रधानमन्त्री टोनी ब्लेयर अहिले पनि विवादित राजनीतिज्ञ मानिन्छन् ।

तर, एउटै घटनाले यो सिङ्गो परिदृश्य बदलिदिएको छ । युक्रेनमाथिको आक्रमण, बम र बारूदले बच्चादेखि वृद्धसम्मको क्षतविक्षत शरीर, ध्वस्त भएका शहर र बस्ती अनि राष्ट्रियदेखि सोसल मिडियासम्म युक्रेनीहरूको करुण पुकारले विश्वका धेरै देशलाई हल्लाइदिएको छ । दैलोमा शरण लिन आएका लाखौं शरणार्थीको भोक र आँसुले केही गर्न हरेक देशलाई नागरिक दबाब बढ़ी रहेको छ ।

-नाटो र युरोपियन युनियनभित्र यसअघि नदेखिएको एकता देखिएको छ । जबकि यसलाई कमजोर बनाउनु पुटिनको उद्देश्य थियो ।
-अमेरिका र युरोपबीच सम्बन्ध सुध्रिएको छ । अमेरिका नहुने हो भने आणविक रसियाले बिस्तारै सबैलाई निल्छ भन्ने अनुभूति भएको छ । युरोपका लागि व्यापार र सुरक्षा दुबैमा अर्थहीन बन्दै गएको अमेरिका एकाएक महत्त्वपूर्ण देखिएको छ ।
-रसियन ग्यासमा निर्भर युरोपले महँगो भए पनि अन्य विकल्पतिर नजर लगाउने अवस्था आएको छ । यसले रसियन अर्थतन्त्र र निर्यातलाई लामो समय प्रभावित पार्न सक्छ ।

-रसियाका छिमेकी अन्य युरोपियन राष्ट्रले निकै ठूलो असुरक्षा महसुस गरेका छन् । एक्लै लड्न नसकिने हुनाले नाटोको सदस्य बन्नुको अर्को विकल्प नरहेको तिनलाई लागेको छ । हिजोसम्म अनकनाएको फिनल्याण्ड आज नाटोको सदस्य बन्न हतारमा देखिन्छ । हिजोसम्म युक्रेनलाई ईयुको सदस्यता दिन हुन्न भन्ने देश आज छिटो र छरितो रूपमा सदस्यता दिनुपर्ने माग गर्दै छन् । कोसोभोले त नाटोको सदस्य बन्न समय लाग्ने हुनाले आफ्नो देशमा अमेरिकी सेना तत्काल राख्न अनुरोध गरेको छ ।

-टर्की र जर्मनीजस्ता देशले आशा नगरिएको स्तरमा युक्रेनलाई हातहतियार सहयोग गर्न तत्परता देखाएका छन् ।
-अमेरिकाभन्दा एक कदम अघि बढेर ईयु देशले नाकाबन्दीको घोषणा गर्नुलाई अचम्म मानिएको छ । ईयु र क्यानडाले रसियन विमानलाई आफ्नो आकाश उपलब्ध नगराउने घोषणा गरे, जबकि अमेरिकी आकाश रसियाका लागि खुलै थियो ।

-सबैभन्दा ठूलो सरप्राइज जर्मनीले दिएको छ । अमेरिकाले दशकौंदेखि दबाब दिँदा समेत सुरक्षा खर्च नबढाएको जर्मनीले एकाएक जीडीपीको २% खर्च गर्ने निर्णय गरेको छ । विश्वकै चौथो ठूलो अर्थतन्त्र भएको जर्मनीले २% खर्च गर्ने निर्णय गर्दा नाटो पहिलेभन्दा झन शक्तिशाली हुने निश्चित छ । अन्य देशले समेत यो बाटो समात्ने अनुमान गरिएको छ ।

-आणविक युद्धको घुमाउरो धम्कीले विश्वमा हलचल, अविश्वास, शङ्का र सतर्कता निम्त्याएको छ । अझ दुःखद त बेलारूस जस्तो सन्की तानाशाह भएको देशमा आणविक अस्त्र राख्ने योजनालाई मानिएको छ । यसले पुटिनमा युद्धको भूत सवार भएको अनुमान धेरैले लगाएका छन् । जर्मनीको कदम पनि यही धम्कीपछि आएको हो ।

घटनाक्रमहरू हेर्दा पुटिनले जुन उद्देश्य राखेर आक्रमण गरेका थिए, परिणाम उल्टो आउने जस्तो देखिन्छ । कमजोर बनाउन चाहेको ईयु र नाटो मजबुत भएको छ । जर्मनीको निर्णयसँगै आर्थिक रूपले पनि नाटो बलशाली हुनेछ । रसियाको व्यापार सम्बन्ध ध्वस्त भएको छ । जसको फाइदा चीन र अमेरिकाले उठाउन सक्छन् । छिमेकी देशहरू पहिलेभन्दा झन सशङ्कित र रूष्ट भएका छन् ।
आजभोलि नै युक्रेनको राजधानी किएभ कब्जा गरेर एउटा कसैलाई राष्ट्रपति घोषणा गर्नुपर्ने हतारमा देखिन्छ रसिया !
शहर, सभ्यता र बस्ती त ध्वस्त भएका छन् नै कलिला बालबालिकादेखि निर्दोष नागरिकहरूको शरीर बमले उछिट्टिएका दृश्य हेरिरहेका रसियन नागरिकहरूमैं युद्धप्रति रोष बढ्दो छ । हजारौं मान्छे ‘पुटिनको युद्ध’ भन्दै त्यसविरुद्ध सड़कमा आएका छन् । प्रतिकार स्वरूप पश्चिमी देशहरूले लगाएको आर्थिक नाकाबन्दीले जनजीवन अस्तव्यस्त बनेको छ । विश्व बजारबाट रसिया एक्लिँदै गएको देखिन्छ । मुद्राको विनिमय दर आधा घटेको छ ।

त्यसै पनि युद्धको लजिस्टिक खर्च निकै महँगो हुन्छ । क्राइमिया कब्जा गर्दाभन्दा अहिलेको नाकाबन्दी निकै घातक भएकाले जति दिन यो लम्बिन्छ, उति ठूलो क्षति बेहोर्नुपर्ने पुटिनलाई थाहा नहुने कुरो भएन ।
त्यसैले जतिसुकै रगत बगाएर भए पनि किएभ कब्जा गर्ने, युक्रेन टुक्ऱ्याउने, एउटा पपेट सरकार किएभमा निर्माण गर्ने र त्यसैलाई सफलता भनेर अर्थ्याउँदै बाहिरिने बाटोमा पुटिन रहेको अनुमान गर्न गाह्रो छैन ।

तर, यत्रो रक्तपात र विध्वंशपछि सरकारमा त रसियन समर्थक कोही आउला, आम युक्रेनी नागरिकमा भने रसिया विरोधी भावना झन उग्र भएर जानेछ । त्यसै पनि सिङ्गो युक्रेन त्यो सरकारको पहुँचमा हुने देखिन्न । कसैले पनि आफ्नो देशलाई शक्ति र बारूदले ध्वस्त बनाउने देशलाई मित्र मान्छ र ? लाखौंले घरबार गुमाएका छन् । सयौंले बिनाकारण बालबच्चा र अभिभावक गुमाएका छन् । धेरै जसो नागरिकसँग अहिले हतियार पुगेको छ । भोलि तिनै नागरिक रसिया विरुद्ध आतङ्ककारी नबन्लान् भन्ने पनि छैन । युक्रेन झन ठूलो घाउ बनेर रसियालाई दुखिरहन सक्ने पनि देखिन्छ ।

यो युद्धबाट देशभित्रै विद्रोहको स्वर बढेको मात्रै होइन, दश वर्षमा पनि पूर्ति नहुने आर्थिक क्षति रसियाले बेहोरेको छ । युरोपका बजारमा हिजोसम्म बेस्ट सेलर रसियन उत्पादन व्यापक जनविरोधपछि आज हटाइएका छन् । युरोपकै दोस्रो ठूलो देशका नागरिकलाई तीव्र रसियाविरोधी बनाएको छ । सयौ आफ्नै सैनिकले पनि ज्यान गुमाएका छन् । उसकै लाखौं नागरिकले देशविदेशमा दु:ख पाएका छन् । उड़ान बन्द छ । ब्याङ्क कार्ड चल्दैन । ‘आइएम सरी युक्रेन’ भन्दै तिनले जापानदेखि जर्मनीसम्म प्ले कार्ड बोकेर गरेको प्रदर्शन मायालाग्दो छ ।
यति सबैपछि हासिल हुने कुन उद्देश्यले कसरी रसियालाई फाइदा गर्ला ? के कुनै देशले छिमेकी देशको सभ्यता, शहर, पूर्वाधार र मान्छे मारेर आफ्नो सहयोगी बनाउन सक्ला ? के यसले दीर्घकालीन निकास देला ? यो प्रश्न रसियालाई मात्रै होइन, त्यो हरेक शक्ति राष्ट्रलाई जसले हतियारको बलमा सबै कब्जा गर्न सकिन्छ भन्ने सोच्छ !

प्रकाशित: १७ फाल्गुन २०७८, मंगलवार १५:३५

Leave a Reply