No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

एमसीसीको वक्तव्य र महाराजका कर्णेलहरू

0

माधवकुमार बस्नेत ।

चन्द्र शमशेरका एकजना कुशाग्र र कुसाख कर्णेल रहेछन् । उनी महाराजलाई रिझाउँदै घूस खान बिछट्टै सिपालु ! उनको तरिका पनि गज्जबकै रहेछ । गाउँबाट केटाहरूलाई जागिर लगाइदिन्छु भनेर ल्याउने । तिनीहरूमध्ये जो पैसा दिन सक्छन् उनीहरूसँग पैसा नै लिने र नहुनेसँग घीउ, कुराउने आदि इत्यादि नै भए पनि लिने । केही असुल गर्न पाइएन भने मरिकाटे केही नगर्ने । पैसाचाहिँ सबै आफैँ राख्‍दा रहेछन् । घीउ कुराउने आदिमध्ये केही लगेर महाराजलाई दिने र “महाराजलाई चढाउँन भनेर घरबाट शुद्ध बनाएर ल्याएछन् र टक्र्याएको” भन्दै महाराजलाई रिझाउने रहेछन् ।

गाउँको शुद्ध घीउ कुराउनेसहित सधै चरण कमलमा पर्ने सेवक कर्णेल परिचित हुने नै भयो । महाराजले नचिन्ने कुरै भएन । अर्कोतिर महाराजको हुकुमअनुसार भनेपछि जागिर पक्का हुने भइगयो ।
उनी जागिर लगाइदिन घूस लिएका युवालाई लिएर महाराजले बार्दलीबाट दर्शन दिने बेलामा महाराजको आँखा पर्ने ठाउँमा अगाडि नै बस्दा रहेछन् । महाराज जब बार्दलीमा निस्किन्छन् कर्णेलले ठूलो स्वरले “सरकार, यो केटो महाराजको सिन्दूर नपहिरिई मर्दिन भनेर बसेको रहेछ । यसो हेर्दा सरकारको सेवा गर्न सक्छ जस्तो लाग्यो । त्यसैले महाराजको दर्शनको लागि ल्याएँ, सरकाऽऽऽर !” भनेर ठूलो स्वरले लेघ्रो तानेर महाराजतिर फर्केर कराउँदा रहेछन् । त्यसपछि महाराजले जागिर र त्यो केटोको विषयमा केही बोल्न नपाउँदै केटोतिर फर्केर “ल मोरा तेरो इच्छा करुणानिधि महाराजले पुर्‍याइदिई बक्स्यो । अब महाराजको सिन्दूर पाइस् । सिन्दूरको राम्रो ख्याल राखेस् भन्ने महाराजको मनसुवा छ । त्यहीअनुसार गरेस् ! भयो । महाराजाबाट बक्स्यो । जा ।” भन्दोरहेछ ।

जागिर भयो वा भएन भनेर महाराजले बोलेकै हुँदैनन् । कर्णेलले महाराजको मनसुवा बुझिसक्ने ! यो किस्सा अहिले किन सम्झनामा आयो भने MCC को मुख्यालयले नेपालको प्रतिनिधि सभाले MCC Compact अनुमोदन गरेकोलाई “acknowledges” भनेर विज्ञप्ति निकाल्यो ।“कम्युनिस्ट नेताहरुको इज्जत जोगाइदिन र एमसीसी अनुमोदन प्रक्रिया अगाडि बढाउन मात्रै व्याख्यात्मक टिप्पणी आएको” भनेर ब्याख्यात्मक घोषणा नामक लङौटी बेर्नुको अर्थ डा. मिनेन्द्र रिजालले प्रष्ट शब्दमा भनिसक्नुभएको छ । यति स्पष्ट तथ्यलाई बङ्ग्याएर लाज ढाक्न MCC ले व्याख्यात्मक घोषणासहितको अनुमोदनलाई स्वीकार गर्‍यो भनेर प्रचार गरिएको छ । आन्दोलन नगरेको भए व्याख्यात्मक घोषणा आउने थिएन भनेर कत्रो न उपलब्धि भएजस्तो गरिएको छ !

मैले पनि MCC मुख्य कार्यालयको विज्ञप्ति पढेँ । मेरो अङ्ग्रेजी कमजोर भएकोले न बुझिन कि भन्दै दोहोर्‍याइदोहोर्‍याई पढेँ । त्यसमा कतै पनि “व्याख्यात्मक घोषणासहित स्वीकार गरेको” भन्ने देखिन । बरु “…acknowledges … the decision to ratify…. भन्ने र नेपाल एउटा सम्प्रभुतासम्पन्न प्रजातान्त्रिक राष्ट्र भएकोले नेपाल कम्प्याक्ट अनुमोदन गर्ने (नगर्ने) निर्णय सधैँ उसैमा रहेको थियो भन्ने तथा विज्ञप्तिको तेस्रो अनुच्छेदमा अनुमोदन हुनु अघिको जस्तो “सम्बन्ध पुनःविचार हुन्छ/गरिन्छ” वा “अनुमोदन नभए चीनियाँ तत्त्व कारक रहेको ठान्छौं” भन्नेजस्तो भाषा नभई “संयुक्त राज्यको नेपालसँगको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै विस्तृत छ, र हामी नेपाल, यसका प्रजातान्त्रिक मूल्यहरू र दूरगामी आर्थिक समृद्धिलाई निरन्तर टेवा दिन्छौं ।” भन्ने कूटनैतिक वाक्य देखेँ । “व्याख्यात्मक घोषणा” भन्ने त शब्दै देखिनँ मैले त ।

हन, मेरो पढाइ वा बोधमा कतै फेर पर्‍यो कि महाराजले बोल्दै नबोली महाराजको मनसुवा बुझ्ने कर्णेलहरू धेरै जन्मे ?!
यसरी अरूलाई मूर्ख बनाएँ भनेर आफैँ पटमूर्ख हुनुभन्दा डा. रिजालको अभिव्यक्तिलाई गलत प्रमाणित गरे हुँदैन, कर सा’बहरू ?

बस्नेतको फेसबुकबाट ।

प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार ०५:२१

Leave a Reply