No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

इन्धन आयात नघटाउने हो भने हामी छिट्टै असफल देश बन्ने बाटोमा हुनेछौं

0

नारायण गाउँले ।

पेट्रोलको छोई नसक्नुको मूल्य र त्यससँगै खाद्यदेखि अत्यावश्यक सामग्रीसम्मको यो शताब्दीकै उच्च मूल्यवृद्धिले गर्दा विश्वभर सघन जन-आन्दोलन सुरु हुने अनुमान छ । खासगरी वातावरण विनाश र ग्लोबल वार्मिंगको मुख्य कारक मानिएको खनिज ऊर्जालाई विस्थापन गर्दै क्रमशः विद्युत्, सोलार, वायुजस्ता नवीकरणीय र स्वच्छ ऊर्जातिर जाने धेरै देशको प्रतिबद्धता र कदमले गर्दा पेट्रोलियमको मूल्य यसै पनि उच्च थियो, त्यसमाथि रसिया-युक्रेन युद्ध र अस्थिरताले यसलाई नसोचेको उचाइमा पुर्याइदिएको छ ।

विश्वका प्रमुख तेल उत्पादक अमेरिकादेखि रसियासम्मका देशले नै पेट्रोलियम प्रयोगलाई विस्थापन गर्ने र विद्युतीय ऊर्जालाई प्राथमिकता दिने भएपछि खराब ऊर्जा मानिने पेट्रोलियम क्षेत्रमा लगानी उच्च स्तरमा घट्न पुग्यो । ठूला ब्याङ्कदेखि फण्ड-म्यानेजरहरूलाई त्यस्ता प्रोजेक्टमा लगानी नगर्न दबाब बढ्यो । वातावरणमैत्री लगानी नीति अनुरूप धेरै लगानीकर्ताले तेल र कोइलासँग जोडिएका कम्पनीमा शेयर बेच्ने र नयाँ शेयर नकिन्ने भए । जसले गर्दा तेलको क्षेत्रमा काम गर्ने कम्पनीहरूलाई पैसा जुटाउनै मुश्किल भयो । चर्को ब्याजमा सीमित स्रोतबाट पैसा चलाउन पर्ने भयो । जसले गर्दा तेलको उत्पादन लागत बढ्न गयो । यहाँसम्म कि युरोपको उल्लेख्य तेल-उत्पादक डेनमार्कले त आफ्नो क्षेत्रमा तेलको उत्खननका लागि नयाँ लाइसेन्स बाँड्ने काम नै बन्द गर्यो । उसको सन् २०५० भित्र कार्बन-न्युट्रल बन्ने लक्ष्य छ ।
फलतः ठूला तेल कम्पनीले तेलको नाफ़ा तेलकै खोज र विकासमा नलगाई विद्युततिर लगाउन थाले । सोचेजस्तो पेट्रोलियम माग घटेन तर अनुसन्धान र बजेट घट्यो । जसले गर्दा पेट्रोल झन महँगो बन्यो । यो क्रम घट्ने नभई बढ्ने क्रममा भएकाले आगामी वर्षहरूमा तेलको मूल्य कम गर्न सजिलो देखिन्न । महामारी पनि पेट्रोलियम मूल्य वृद्धिको एउटा कारण मानिन्छ । त्यो बेला तेलको खपत र मूल्य शून्यको नजिक आइपुगेकाले खर्च र ब्याज धान्न नसकी धेरै तेल कम्पनी ब्याङ्करप्ट भए । तेलमा निर्धारित अर्थतन्त्रलाई ठूलो धक्का लाग्यो । अहिले त्यसको क्षतिपूर्ति असुल्ने प्रयास हुँदै छ ।

युक्रेनमाथिको रसियन अतिक्रमण र परिणामस्वरूप रसियामाथि विभिन्न देशले लगाएको आर्थिक नाकाबन्दीले पेट्रोललाई झनै महँगो बनायो । तेल निर्यातको विश्व बजारमा रसिया एक्लैको ८% भन्दा ठूलो हिस्सा छ । बढ्दो असुरक्षा, सप्लाई चेनमा पुगेको बाधा, अनिश्चयता र अभावको आशङ्कामा धेरै देशले तेल रिजर्भ बढाउनुलाई अहिलेको वृद्धिको मुख्य कारण मानिन्छ । तेल बढ्दा उत्पादनदेखि ढुवानीसम्म सबै लागत बढ्ने हुनाले यसले जीवनलाई चारै कुनाबाट छुन्छ ।

तेलको मूल्यवृद्धि कति खतरनाक स्तरमा छ भने यसले विश्वकै ठूलो उत्पादक अमेरिकालाई पनि अत्याएको छ । चालीस वर्षयताकै उच्च महँगीसँग जुधिरहेको अमेरिकालाई महँगी नियन्त्रण फलामको च्युराजस्तो भएको छ । यसमा सबैभन्दा ठूलो बाधा ऊर्जाको मूल्य देखिएको छ । तेलको उत्पादन गर्ने सबैजसो कम्पनी निजी हुने र उत्पादन तथा मूल्यमा सरकारी नियन्त्रण ज्यादै न्यून हुने हुनाले त्यसलाई नियन्त्रण गर्न धम्मे परेको छ । रिजर्भमा रहेको तेल बजारमा पठाउनेदेखि उत्पादन बढाउन ओपेक देशलाई आग्रह गर्ने काम गरे पनि त्यसको असर बजारमा देखिएको छैन ।

तेल-उत्पादकहरूको संस्था ओपेकसँग आवश्यक परे उत्पादन र निर्यात बढाउन सक्ने क्षमता छ । जसले मूल्यलाई सबैभन्दा छिटो नियन्त्रण गर्न सक्छ । तर अहिलेको मूल्यवृद्धि अभावले नभएर द्वन्द्वले भएको भन्दै साउदी अरेबिया लगायतका देशहरू उत्पादन उल्लेख्य रूपमा बढाउन तैयार छैनन् । उत्पादन बढ़ाउँदा द्वन्द्व सकिएसँगै आपूर्ति बढ्ने र मूल्य धेरै घट्ने डर तिनलाई छ । अमेरिका र ईरान सहमति नजिक पुगेकोले इरानी तेलमाथि अमेरिकी नाकाबन्दी हट्ने र ठूलो मात्रामा हुने सप्लाईले ह्वात्त मूल्य घटाउने डर पनि तिनलाई छ । तिनले सबैभन्दा पहिले आफ्नो मुनाफा हेर्छन् ।

नेपाल तेल उत्पादक देश होइन । यही हाल रहे नेपालमा पेट्रोल मूल्य केही महिनामा २५० रुपियाँ पुग्ने छ । तेल मुख्य आयात भएकाले धान्न नसकिने गरी व्यापारघाटा बढ्ने छ । वैदेशिक मुद्रा सञ्चिति डरलाग्दो गरी घट्ने डर देखिन्छ । पेट्रोलसँगै हरेक क्षेत्रमा भएको अन्तर्राष्ट्रिय मूल्यवृद्धिले हाम्रो देशको क्रय शक्तिलाई ठूलो चुनौती थपेको छ । तत्काल हामीसँग कसरी व्यापारघाटा कम गर्ने भन्ने कुनै योजना छैन । यो विश्वव्यापी समस्याले हामीलाई कसरी धराशायी बनाउन सक्छ भन्नेमा कुनै छलफल र चिन्ता छैन । हामी श्रीलङ्का या पाकिस्तान जस्तै सिटामल समेत आयात गर्न नसक्ने गरी टाट पल्टिनसक्ने सम्भावनाबारे कसैले सोचेको छैन ।

नेपालसँग झन्डै १२ खर्ब रुपियाँबराबर विदेशी मुद्रा सञ्चिति छ । जसले १० महिनाको आयात धान्न सक्छ । तर हाम्रो मुख्य आयात पेट्रोल नै डबल बढ्यो भने यस्तो आयात पाँच महिनालाई मात्रै हुने भयो । हाम्रो मुख्य वैदेशिक मुद्रा कमाइ रेमिटेन्स हो । तर गत वर्ष श्रम स्वीकृति ६०% ले घटेको रहेछ । त्यसको असर देखिन केही वर्ष लाग्ला । तत्काल उत्पादन बढ़ाएर विदेश निर्यात गर्ने सम्भावना छैन । कच्चा पदार्थ नै बाहिरबाट ल्याउनुपर्ने हाम्रा उद्योग छन् । यहीँ उत्पादन भएको धान र काउलीभन्दा तीन दिन लगाएर आयात हुने काउली सस्तो पर्छ । हाम्रो नीति र अति राष्ट्रवादी संस्कृतिले गर्दा सजिलै वैदिशिक लगानी आउने कुरो पनि भएन । यस्तोमा विद्युतमा लगानी नबढाउने हो र पेट्रोल आयात नघटाउने हो भने हामी छिटै असफल देश बन्ने बाटोमा हुनेछौं । यो राष्ट्रवादी भाषणले हल हुने समस्या होइन ।
हामी कति जटिल मोड़मा छौं भन्नेमा किन टाउको दुःखाउनु र ! हाम्रा लागि चिन्ता र मनोरन्जनका विषय हाम्रा पार्टीले उत्पादन गरी हाल्छन् । एउटा काम नलागे अर्को आउँछ !

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार १६:१३

Leave a Reply