No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

सानो मुलुकले स्वतन्त्र हैसियतमा बाच्ने अधिकार हुन्न भन्ने हो ?

0

केशवप्रसाद भट्टराई ।
१. उत्तरी युरोपको एउटा राष्ट्र हो फिनल्याण्ड । पूर्वतिर रूस र पश्चिमतिर स्विडेन उत्तरमा नर्वे र दक्षिणमा इस्टोनिया कहीं सीमाना जमिनको र कहीं जलको । सोभियत सङ्घको पतन हुनु अघि युरोपको गरीव राष्ट्र । सोभियत सङ्घको पतन पछि उदार अर्थतन्त्र, प्रजातन्त्र, दुनियाँकै उत्कृष्ट शिक्षा प्रणाली र पश्चिम युरोपका मुलुक हरूसँगको खुला व्यापारले कायापलट भयो र आज युरोपको सवैभन्दा विकसित र समृद्ध मुलुकहरूको गणनामा आउँछ । सेप्टेम्बर १, १९३९मा नाजी जर्मनीले पोल्याण्ड माथि आक्रमण गर्यो । सेप्टेम्बर ३ मा वेलायत र फ्रान्सले जर्मनी विरुद्ध युद्धको घोषणा गर्यो ।

२. अगस्ट २३, १९३९मा हिटलरको जर्मनी र स्टालिनको सोभियत सङ्घवीच एक अर्का विरूद्ध आक्रमण नगर्ने र एक अर्कालाई सहयोगगर्ने सन्धि भयो । पोल्याण्डलाई दुई मुलुक माझ बाँडेर लिने निर्णय भयो । पोल्याण्डमाथि जर्मनीको आक्रमण भएको र बेलायत र फ्रान्सले जर्मनी विरूद्ध युद्धको घोषणा गरेको र जर्मनी र सोभियत सङ्घ वीचको बढ्दो निकटता अनुभव गरेको फिनल्याण्डले ३० नोभेम्बर १९३९मा आफू उक्त युद्धमा तटस्थ रहने घोषणा गर्यो । तर सोभियत सङ्घले उसलाई युद्धमा सहयोग गर्न, उस्को पक्षमा लाग्न दवाव दियो । सो दवावको सामना गर्न फिनल्याण्डले स्विडेन, बेलायत र फ्रान्ससँग सहयोगको अपेक्षा गर्यो । अहिले युक्रेनको पक्षमा कोही न आए जस्तै फिनल्याण्डलाई सहयोग गर्न कोही आएननन् ।

३. सोभियत सङ्घले एउटा कृतिम सीमा झडपको स्थिति निर्माण गर्यो र नोभेम्बार ३०,१९३९मा फिनल्याण्ड माथि आक्रमण गर्यो । सानो फिनल्याण्ड, कमजोर फिनल्याण्ड तीन महिनासम्म सर्व शक्तिमान सोभियत सङ्घसँग लड्यो । लडिरह्यो । अन्तत विराट शक्तिको सामू केही लागेन –पराजित भयो ।

४. तर त्यत्रो शक्तिसँग एक्लै तीन महिना सम्म लड्नु आफैंमा एउटा असम्भव उपलव्धि थियो । युद्ध इतिहासमा एउटा नौलो अध्याय थियो । भौतिक युद्ध सोभियत सङ्घले जित्यो तर नैतिक युद्दमा फिनल्याण्ड विजयी भयो । फिनल्याण्डले रूस वा सोभियत सङ्घलाई कहिल्यै मित्र मान्न सकेन । फिनल्याण्ड आज इयुको सदस्य छ र असंलग्नता छोडेर नाटोको सदस्यता लिन प्रतिवद्ध छ ।

५. दुर्भाग्यले आज युक्रेन त्यतिखेरको फिनल्याण्डको स्थितिमा छ । एक्लै सन्सारको दोस्रो ठूलो शक्तिसँग लडिरहेको छ । इयु र नाटोको सदस्यता लिन इच्छुक छ । एउटा स्वतन्त्र राष्ट्रको रूपमा त्यस्तो कुनै सदस्यता लिनु वा नलिनु उसको अधिकार हो । तर रूस युक्रेनलाई आफ्नो नेतृत्वको र पूर्व सोभियत सङ्घ अन्तर्गतका केही मुलुकहरू मिलेर बनेको संगठन कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसन (सिएसटिओ) र इयु जस्तै रूस नेतृत्वको पूर्वी युरोप, मध्ये एसिया र पाश्चिम एसियाका केही राष्ट्रहरू मिलेर बनेको युरेसियन इकोनोमिक युनियन को सदस्य बनोस भन्ने चाहन्छ ।

६. सवाल सैद्धान्तिक हो , सवाल राष्ट्रको प्रभुसत्ता र स्वतन्त्रताको हो – के कुनै ठूलो मुलुकको छिमेकमा रहेको सानो मुलुक आफूले रोजेको विश्वको कुनै संगठनको सदस्य बन्न स्वतन्त्र छ ÷छैन ? ठूलो र शक्तिशाली छिमेकीको कोपबाट बच्न उसले आफ्नो स्वतन्त्रता र प्रभुसत्तासँग सम्झौता गर्नु पर्दछ ? कुनै राष्ट्रको छिमेकी हुनुको मूल्य मुलुकको स्वतन्त्रता र प्रभुसत्ताबाट चुक्ता गर्नु पर्ने हो ? कुनै ठूलो मुलुकको छेउको सानो मुलुकको स्वतन्त्र हैसियतमा बाच्ने अधिकार हुन्न भन्ने हो ?

प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार १३:१६

Leave a Reply