No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

‘निर्वाचनमा कांग्रेस गठबन्धनका रुपमा सहभागी हुँदैन’

0

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा कांग्रेस गठबन्धनका रुपमा सहभागी नहुने बताएका छन् ।

नेपाली कांग्रेस विराटनगर महानगरपालिका कार्यसमितिद्वारा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले  अहिलेको गठबन्धन विशेष परिस्थितिमा बनेकाले निर्वाचनमा एक्लाएक्लै  जाने बताएका हुन् ।

‘यो गठबन्धन संविधानलाई विस्थापित गर्ने कोसिस भएपछि बनेको हो र यो गठबन्धन चुनावसम्मका लागि मात्रै हो’, कोइरालाले भने, ‘कांग्रेसको सिद्धान्त कम्युनिष्टहरूलाई भोट हाल्ने होइन ।’

देशभरका ७५३ वटै पालिकामध्ये अधिकांशमा जिते पार्टीले प्रदेश र संघमा पनि जित्ने दाबी कोइरालाले गरे । कांग्रेस उपसभापति धनराज गुरुङले गठबन्धनका अन्य दलहरुलाई ‘हात्तीको कानमा झुण्डिएको चमेरो’ भन्दै निर्वाचनसम्म गठबन्धन गर्नुपर्छ भन्ने उनीहरुको आलोचना गरे ।

कांग्रेस महामन्त्री गगन थापाले माले, मण्डले र मसाले एकै भएको उल्लेख गरे । पाँच वर्ष शासन गर्छु भनेर दुई तिहाई नजिकको मत लिएर आएको नेकपाले शासन सत्ता चलाउन ढंग नपुर्याएका कारण २३ सिट जितेर पनि कांग्रेसले सत्ता चलाउनु पर्ने बाध्यात्मक अवस्था आइपरेको उनले बताए ।

‘पाँच वर्ष शासन गर्छु भन्ने तत्कालिन नेकपाले तीन वर्ष पुग्दा नपुग्दै एकथरी घर पोलेर खरानी घस्दै नाच्न थाले, अर्काथरि हामीलाई लखेटियो भन्दै लाम लागेर सरकार चलाइदिनुपर्यो भन्दै कांग्रेसलाई अनुरोध गर्न आए’ थापाले भने, ‘त्यही कारण २३ वटा सिट जितेको कांग्रेसले केन्द्र सरकार चलाउनु परेको छ ।’

नेता डा. मिनेन्द्र रिजालले पनि गठबन्धन गरेर चुनावमा जान नहुने धारणा राखे । ‘हाम्रो जहाजमा बसेर केही साथीहरु सवार गर्न खोजिरहनु भएको छ, निर्वाचन जित्ने अनि सत्तामा जाने कुरा कल्पना गरिरहेका होलान्, त्यस्तो कल्पना नगर्नुहोस् ।’

प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार १४:३८

Leave a Reply