No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

आजको लागि जेलेन्स्कीले विश्वले असम्भव ठानेको कुरो गरेर देखाएका छन्

0

नारायण गाउँले ।

बोल्ने कला र साहस पनि मिसाइलभन्दा बलिया हुने रहेछन् ! युक्रेन आधा हतियारले लडेको होला, आधा लड़ाइँ राष्ट्रपतिको बोली र हिम्मतले लड़िरहेछ ! कैयौं गुना शक्तिशाली रसियन आक्रमणसँग युक्रेन यतिन्जेल लड्न र टिक्न सक्छ भन्ने विश्वास यही एउटा व्यक्तिबाहेक बाँकी विश्वलाई थिएन । अमेरिकी अनुमान त रूसले तीन दिनभित्र राजधानी कब्जा गर्छ भन्ने थियो ।

यो युद्ध जेलेन्स्कीले सुरु गरेको युद्ध होइन । नाटोमा जाने युक्रेनी चाहना २० वर्ष पुरानो हो, जेलेन्स्कीको नयाँ चाहना होइन । जेलेन्स्की सत्तामा आउनुअघि नै रसियाले क्राइमिया निलिसकेको थियो भने डोनबास क्षेत्रमा रसियन सैन्य सहयोगमा विद्रोहीले कब्जा जमाएका थिए । त्यहाँ गृहयुद्धको अवस्था थियो । जेलेन्स्की कुनै शक्तिले बन्दुकको नालमा सत्ता परिवर्तन गरेर कुर्सीमा राखिदिएको तानाशाह होइनन्, जनमतबाट निर्वाचित राष्ट्रपति हुन् ।

आफ्नो देशको सार्वभौमिकता सबैलाई प्यारो हुन्छ । एक इन्च भूमि पनि विदेशीलाई दिने गरी कुनै पनि सम्झौता गर्दा उसको सात पुस्ता ‘लेन्डुप’ भनेर चिनिन्छ । आफ्नो भूमि निलेको, तँ देश नै होइनस् भनेर धम्की दिने र आफ्ना भूभागमा कब्जा जमाएर बसेको देशसँग मित्रवत् सम्बन्ध राख्न सजिलो हुँदैन । अझ मेरो जमीन पनि तेरो र मेरो सुरक्षा पनि तेरै हातमा भनेर आत्मसमर्पण गर्न त कुन राजनीतिज्ञ तैयार होला र ?

जेलेन्स्कीलाई त्यही समस्या थियो । देशभित्रै तीव्र विवादका बाबजुद उनले रसियासँग वार्ता गरेर, डोनबास क्षेत्रमा गृहयुद्ध रोक्न असफल प्रयास गरेका थिए । युक्रेनमा अतिराष्ट्रवादीले त उनलाई रसियाको दलाल नै भन्ने गरेका थिए । उनी देशभित्र तीव्र असन्तुष्टि भए पनि नाटोको सदस्य बन्ने चाहना त्याग्न तैयार देखिएका छन् । युद्धको कारणबारे नजाऊँ । त्यहाँ तपाईंका आफ्नै तर्क होलान् र पक्षविपक्ष होला । तर,
कुनै पनि बेला मारिन सक्ने अवस्थामा समेत जेलेन्स्की आफ्नो तीन पुस्तालाई पुग्ने धनदौलत जम्मा गरेर देश नछोडेको र डटेर देशका लागि लडेको देख्दा विश्वका धेरै मान्छे छक्क परेका छन् । एकाएक उनी प्रेरणास्रोत बनेका छन् । अमेरिकालगायत पश्चिमी मुलुकले उनलाई सकुशल उद्धार गर्न जहाज पठाउने प्रस्ताव समेत राखेका थिए । तर उनले देशमाथि शत्रुले आक्रमण गरेका बेला जहाज होइन हतियार पो सहयोग गर्ने हो भनेर सबैलाई अचम्म बनाए ।

जेलेन्स्की भागेको दिन या उनी मारिएको दिन युक्रेनी प्रतिरक्षा ध्वस्त हुन्छ र केही दिनमैं पूरा देश रसियाको कब्जामा हुन्छ भन्ने धेरैलाई लाग्छ । सेनाले आत्मसमर्पण गरेको दिन युक्रेनको नक्सा आजको जस्तो पक्कै हुँदैन । तत्कालका लागि रसियाले चाहेको कसैलाई राष्ट्रपति बनाउने र क्राइमियामा जस्तै एउटा जनमत सङ्ग्रहको नाटक मञ्चन गराएर रसियामा विलय गराउने डर युक्रेनीहरूलाई छ । चालीस लाख युक्रेनीले त्यसै पनि देश छोड़ी सकेका छन् । जर्जियादेखि क्राइमियासम्मका उदाहरण तिनले देखेका छन् । डोनबास क्षेत्रलाई पनि अहिले छुट्टै देशका रूपमा अलग्याउने, जनमत सङ्ग्रह गर्ने र रसियामा विलय गराउने दिशामा रसिया अघि बढेको सबैले देखेका छन् ।

जेलेन्स्कीसँग विकल्प छैन । उनले हतियार बिसाउने हो भने देश रहन्न । उनी कुनै आइल्याण्डमा सुखसयलपूर्वक जीवन बिताउन सक्लान्, तर सात पुस्तासम्म ‘लेन्डुप’ भनेर युक्रेनभित्र सरापिने छन् । मान्छेले उनलाई कमेडियन भनेर हेपेको पनि देखिन्छ तर एउटा कमेडियनले विश्वको सबैभन्दा शक्तिशाली शासकमध्ये एक पुटिनको रणनीतिलाई कड़ा टक्कर दिइरहेका छन् । युक्रेनमाथि विश्वका धेरै नागरिकको सहानुभूति कमाई रहेका छन् र महत्त्वपूर्ण कुरा वाक्पटुताले अन्य देशलाई सहयोग गर्न बाध्य बनाई रहेछन् । धेरैलाई थाहा छ, जेलेन्स्कीको प्रभावपूर्ण बोलीकै कारण पश्चिमी देशहरूले रसियाविरुद्ध आफू नोक्सानमा रहेर पनि सोचे भन्दा कड़ा नाकाबन्दी गर्न बाध्य भए ।
उनको भाषा र सम्बोधन यति शक्तिशाली छ कि टर्की र जर्मनी जस्ता रसियासँग मधुर सम्बन्ध भएका देशसमेत युक्रेनलाई सैन्य सहयोग गर्न अगाडि आएका छन् ।

युद्धमा महत्त्वपूर्ण मानिने लडाकु विमान दिन पश्चिम तैयार भएन, नो फ्लाई जोनको अनुरोध पूरा गर्न नाटो तैयार भएन, सेना पठाउन कोही तयार भएन । यस्तोमा युक्रेन धेरै दिन टिक्दैन भन्ने स्वयं पश्चिमको अनुमान गलत साबित गर्दै उनले देशलाई अहिलेसम्म बचाई राखेका छन् । ठूलो क्षति र कड़ा प्रतिकार बेहोरेको रसियाले अब युद्धको रणनीति फेर्ने सम्भावना बढेको देखिन्छ । छिटै युद्धविराम हुन पनि सक्छ ।
रसियासँग शान्तिवार्ता भयो भने पनि युक्रेनले डोनबास क्षेत्र बचाउन सक्ने सम्भावना देखिन्न । सिङ्गो युक्रेन कब्जा गर्ने रणनीतिबाट पछि हट्यो भने रसियालाई फेस-सेभींगका लागि पनि डोनबास क्षेत्र चाहिन्छ नै । यस्तोमा जेलेन्स्कीले कुनै सम्झौता गरे भने पनि उनलाई देशभित्र असहयोग हुने र मारिने खतरा त रहन्छ नै । हाम्रो भाषामा उनी देश-बेचुवा ठहरिन्छन् । युक्रेनमा अति-राष्ट्रवादीहरू प्रशस्त छन् जसलाई पुटिनले नवनाजी भन्ने गरेका छन् ।

भोलि के होला, स्पष्ट छैन । तर आजको लागि जेलेन्स्कीले विश्वले असम्भव ठानेको कुरो गरेर देखाएका छन् । हिजोसम्म युक्रेनको नक्सा नचिन्ने विश्वभरका लाखौं बालबालिका आज उनको तस्बीर देख्नेबित्तिकै चिन्छन् !

प्रकाशित: १३ चैत्र २०७८, आईतवार १५:४६

Leave a Reply