No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयप्रति चीन असन्तुष्ट

0

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपालमा नाकाबन्दी नगरेको बताएकी छन् । चिनियाँ दूतावाताले बिहीबार गरेको भर्चुअल पत्रकार सम्मेलनमा राजदूत यान्छीले कोरोना संक्रमणका कारण रसुवागढी र तातोपानी नाका पूर्णरुपमा सञ्चालनमा आउन नसकेको बताएकी हुन् ।

कोरोना भाइरस संक्रमणका कारण तीन नाकाहरुबाट सोचेअनुसार काम नभएको उनले स्पष्ट पारिन् । उनले नेपाल चीनबीच अहिले पनि सोही स्थानहरुबाट व्यापार भइरहेको बताइन् । त्यस्तै राजदूत यान्छीले केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन (डिटेल फिजिविलिटी स्टडी) पूरा भएपछि मात्र निर्माणको समय टुंगो लाग्ने बताइन् ।

उनले डिटेल फिजिविलिटी स्टडी पूरा भएपछि मात्रै कहिलेसम्म निर्माण सम्पन्न हुन्छ भन्न सकिने बताइन् । उनले भनिन्, ‘कहिलेसम्ममा केरुङबाट काठमाडौं रेल आइपुग्छ म अहिले भन्न सक्दिनँ। रेल मार्ग हिमालय क्षेत्रमा पर्ने भएका कारण यसको निर्माणमा समेत कठिनाई हुन्छ। डिटेल फिजिविलिटी स्टडी पूरा भएपछि मात्र निर्माणको समय टुंगो लाग्छ।’

उनले रेलमार्ग निर्माणमा आवश्यक पर्ने आर्थिक पक्षको बारेमा समेत नेपाल–चीनबीच गहन छलफल हुनुपर्ने बताइन्। चिनियाँ विदेशमन्त्री वाङ यीको हालै भएको नेपाल भ्रमणका क्रममा समेत रेलमार्ग अगाडि बढाउन दुवै पक्षबीच थप सहमति भएको थियो । रेलमार्ग निर्माण गर्न करिब तीन खर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ ।

त्यस्तै उनले बुढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीलाई नदिने सरकारको निर्णयप्रति असन्तुष्टि जनाइन् ।

राजदूत यान्छीले सरकार बदलिएसँगै नीति परिवर्तन हुने कुराले चिनियाँ लगानीकर्तालाई समस्या परेको बताइन्। उनले भनिन्,
‘त्यति ठूला आयोजना बनाउन लगानीकर्ताले लामो समयसम्म तयारी गरेका हुन्छ। सरकार परिवर्तन भएसँगै नीति परिवर्तन हुँदा उनीहरूलाई गाह्रो हुन्छ।’ राजदूत यान्छीले नेपालमा चिनियाँ लगानीकर्तालाई यस्ता निर्णयले गाह्रो पार्ने बताइन्।

चिनियाँ कम्पनीहरूले नेपालमा आयोजना बनाउँदा समयमै भुक्तानी नपाउने अर्को समस्या रहेको उनले बताइन्। केपी शर्मा ओली सरकारले चिनियाँ कम्पनी गेजुवालाई बुढीगण्डकी आयोजना बनाउन दिने निर्णय गरेको थियो। तर शेरबहादुर देउवा नेतृत्वको सरकारले केही दिनअघि १२ सय मेगावाटको यो आयोजना आफैं बनाउने निर्णय गरेको हो।

प्रकाशित: ८ बैशाख २०७९, बिहीबार ०७:१२

Leave a Reply