No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

ठूलो दलमात्र नभई एमाले ‘वेइटिङ गभर्मेन्ट’ होः अध्यक्ष ओली

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले ठूलो दलमात्र नभई भोलिको सरकारमा जाने वेइटिङ गभर्मेन्ट भएको बताएका छन् । शुक्रबार पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारको नेतृत्व गर्ने पर्खाइमा रहेको बताएका हुन् ।

उनले भने, ‘हाम्रो एजेण्डालाई नेपाली जनताले बुझ्नुभएको छ। एमाले ठूलो दलमात्र होइन, भोलि सरकारमा जाने वेइटिङ गभर्मेन्ट हो। यो कुरा एमालेका लागि मामुली कुरा हो ।’ अध्यक्ष ओलीले आफ्नो पार्टी देशभित्रमा सीमित नरहेर नेपालीव्यापी बनेको बताए । उनले नेपाली रहेको विश्वको जुनसुकै देशमा पनि एमाले रहेको बताए ।

उनले भने, ‘जहाँ नेपाली, त्यहाँ एमाले । संसारको जुनकुनै कुनामा एमाले छ। मुख्य पुँजी नै यही सफलता नै यही हो। सरकारमा पुगियो, चलाइयो। त्यो पुँजी होइन। भरपर्दो पुँजी नेपाली जनताको आशिर्वाद र विश्वास हो।’ नेपालमा कम्युनिष्ट पार्टी ७३ वर्ष पुग्दा एमाले नै यसको मूलधार हुनु ठूलो सफलता भएको ओलीको भनाइ थियो ।

उनले नेपाली जनताको अनुहारमा गरिबीका धर्काहरु एमालेले हटाउने बताए । उनले भने, ‘गरिबी अभाव नभएको, त्रास, दमन, थिचोमिचो नभएको, शान्तिपूर्ण जीवन, असमानता नभएको समानतामुलक समाज चाहन्छौं ।’

अध्यक्ष ओलीले विज्ञान प्रविधिले प्राप्त भएका उपलब्धीहरु समान ढंगले उपयोग गर्न र आफ्नो जीवन सहज सरल सुखी बनाउने पार्टी एमाले भएको बताए । उनले एमालेको खास र विशेष संगठन कार्यकर्ता भएको बताए। जसको काँधमा इतिहास बदल्ने अभिभारा र उन्नत दिशामा अगाडि बढाउने अभिभारा रहेको उनले बताए ।

उनले बालबालिकालाई राजनीतिमा प्रयोग गर्न हुँदैन भनिए पनि ती बालबालिका भोलिका भविष्य भएको बताए। उनले भने,‘बालिबालिकाले आइ लभ यू एमाले भन्दैछन्। बालबालिकाको रोजाइमा एमाले परेको छ । हाम्रा नानीहरुलाई सूर्य चिन्ह भएको झण्डा दिनुस् कति खुसी हुन्छ, अत्यन्त रमाउँछ।’

प्रकाशित: ९ बैशाख २०७९, शुक्रबार ११:१३

Leave a Reply