No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन गगन थापाको आग्रह

0

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा स्वतन्त्र ढंगले उम्मेदवारी दिएका पार्टीका नेता, कार्यकर्तालाई फिर्ता लिन आग्रह गरेका छन् ।

महामन्त्री थापाले निर्वाचनमा होमिएको बेला पार्टीको निर्णयको सम्मान गर्दै आफ्नो स्वतन्त्र उम्मेदवारी फिर्ता लिन पार्टीका नेता, कार्यकर्तालाई आग्रह गरेका हुन् । नेपाली काँग्रेस काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा थापाले गठबन्धन गरेर अघि जाने क्रममा भएका कमीकमजोरीबारे पार्टीले निर्वाचनपछि छलफल गर्ने उल्लेख गर्दै निर्वाचनमा होमिएको बेला पार्टीको निर्णय विपरित उम्मेदवारी दिन नमिल्ने बताए ।

त्यसरी उम्मेदवारी दिँदा पार्टीका कर्मठ नेताहरुको हितमा नहुने उनले दोहोर्याए । महामन्त्री थापाले पार्टी भित्र गठबन्धन गरेर चुनावमा जाने कुरामा फरक मत रहेपनि अहिले पार्टीको निर्णय अनुसार मिलेर अघि बढनुको विकल्प नरहेको बनाए ।

उनले भने, ‘गठबन्धन बनाएर निर्वाचनमा जाने विषयमा पार्टी भित्र फरक मत मात्रै होइन । ठूलो भिन्न मत पनि छ । यसका बारेमा संघर्ष पनि भयो । त्यो संघर्ष छ र भोलिको दिनमा पनि रहन्छ । तर राजनीतिक दल भनेकै आफ्नो मतलाई दलको मत बनाउन कोसिस गर्ने हो । दलको मत बन्न सकेन भने पनि आफ्नो मतलाई दलको मत बनाउन कोसिस गरिरहन्छु भनेर दलले गरेको निर्णयलाई स्विकार गर्ने हो । यसै गरेर पार्टीहरु निर्णय गरेर अघि बढिरहेका हुन्छन् । हामी पार्टीलाई जिताउन चाहन्छौं, पार्टीको निर्णयलाई कार्यान्वयन गराउन चाहन्छौं । तर यस पछाडि फेरि छलफल हुन्छ । फेरि बहस हुन्छ । यो विषय ओझेलमा राखिन्न । एउटा, एउटा विषयमा छलफल हुन्छ । तालमेलको विषयमा छलफल हुन्छ । सैद्धान्तिक विषयमा छलफल हुन्छ । प्रदेशलाई, गाउँलाई, जिल्लालाई निर्णय गर्न दिइएको कुरा उचित भएको कि भएन । पार्टीको विधानको बारेमा छलफल हुन्छ । नियतका बारेमा छलफल हुन्छ । कैयन ठाउँबाट हामी कहाँ निवेदन आएका छन । प्रदेश कमिटीले समयले निर्णय नगर्दाखेरी भएका अप्ठ्याराका बारेमा कुरा आएका छन् । कैयन ठाउँहरुमा जिल्ला कार्य समितिले क्षेत्रीय समितिलाई उजुरीहरु संकलन गरिरहेका छौं । दोषीमाथि कारबाही गर्छौैं । तर आज म पार्टीका साथीहरुलाई यहीबाट आह्वान गर्न चाहन्छु–जव पार्टी एउटा निर्णय गरेर निर्वाचनमा होमिन्छ । त्यो भन्दा अगाडिसम्म आफ्ना मतभेदहरु हुन्छन् । चुनाव पछाडि फेरि ती विषयमा मतभेदहरु हुन्छन् । तर चुनावमा होमिईसके पछि त पार्टीको निर्णयलाई सबैले मान्नुपर्छ । सम्मान गर्नुपर्छ । म देशभरीका पार्टीका साथीहरु, जसले अहिले पार्टीको निर्णय भन्दा बाहिर गएर स्वतन्त्र ढंगले उम्मेदवारी दिनु भएको छ । म तमाम ती साथीहरुलाई महामन्त्रीको रुपमा अनुरोध गर्न चाहन्छु–हामीसँग अरु २ दिनको समय बाँकी छ । म तपाईहरु सबैलाई अनुरोध गर्न चाहन्छु–यो पार्टीमा हामीहरु पनि छौं । तपाईहरुमाथि भएको एउटाएउटा अन्यायको हिसावकिताव हुन्छ । तपाईहरुमाथि जसलाई विभेद भएको छ । त्यसको एउटाएउटा हिसावकिताव हुन्छ ।’

महामन्त्री थापाले आफूले पनि चुनावी तालमेलको विषयमा फरक मत राखेको तर पार्टीले गरेको निर्णय कार्यान्वयन गरेर अघि बढेको बताए । अन्यथा पार्टीमा फेरि फर्केर काम गर्न पाउने अवस्था रहन नसक्ने उनले बताए ।

प्रकाशित: १४ बैशाख २०७९, बुधबार ११:०२

Leave a Reply