No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यौनहिंसाको घटनाको छानविन गर्न सरकारलाई सभामुखको निर्देशन

0

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले यौनहिंसाको घटनाको सम्बन्धमा छानविन गरी दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका छन् । शुक्रबारको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सामाजिक सञ्जालमा एक युवतीले आफूलाई बलात्कार भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै घटनामा संलग्न पीडकलाई कारबाही गर्न माग गरेका थिए ।

लगत्तै समामुख सापकोटाले सांसद थापाको कुराप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सो घटनाको सम्बन्धमा शीघ्र छानबिन गरी सत्यतथ्य पहिचान गर्न र दोषीलाई कानूनी दायरामा ल्याउन सरकारलाई निर्देशन दिएका हुन् । नेपाली कांग्रेसका सांसद थापाले सामाजिक सञ्जालमा एक युवतीले ८ वर्षअघि वलात्कृत भएको घटना सार्वजनिक गरेको उल्लेख गर्दै अभियोग लागेको व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याउन सरकार समक्ष माग गरे । उनले बलात्कारको घटनाको हदम्यादको सम्बन्धमा पनि पुनर्विचार गर्नुपर्ने बताए ।

उनले भने, ‘सम्माननीय सभामुख महोदय, हिजो साँझ घर जाँदाखेरी श्रीमती र दुईवटा साना–साना छोरीहरु सामाजिक सञ्जालमा आएको एउटा नौजवान युवतीको एउटा भिडियो जसमा ८ वर्षअघि आफूलाई वलात्कार गरेको घटनाको उनले बताइरहेकी थिइन् । त्यो हेरिरहेको, त्यसको प्रतिक्रिया उनीहरुको अनुहारमा परेको, मेरो छोरी डराएको म त्यो क्षण अहिले सम्झिरहेको छु । त्यसैले म यो विषयमा प्रवेश गर्नुभन्दा पहिला सम्माननीय सभामुख मार्फत् नेपाल सरकारलाई यत्रो विषय सार्वजनिक भइसकेपछि तत्कालै जसलाई अभियोग लागेको छ, तत्कालै अनुसन्धानको दायरामा ल्याउनको निम्तिआग्रह गर्न चाहन्छु । र यही संसदबाट बनाएको वलात्कार सम्बन्धी कानून हाम्रो फौजदारी संहिताको खासगरी हदम्याद सम्बन्धी विषयको सम्बन्धमा पुनर्विचार गर्न पनि सरकारलाई निर्देशन दिनका लागि सम्माननीय सभामुखलाई अनुरोध गर्न चाहन्छु ।’

एक युवतीले केही दिनअघि सामाजिक सञ्जालमार्फत् आफूलाई ८ वर्ष अघि सुन्दरी प्रतियोगिताको आयोजकबाट बलात्कार भएको घटना सार्वजनिक गरेकी थिइन् । उनले सो घटनामा केही व्यक्तिहरुको संलग्नता देखाएकी थिइन् । उनको न्यायको लागि सामाजिक सञ्जालमा चर्को आवाजहरु आएका छन् भने पीडकलाई कानूनी दायरामा ल्याउन माग गरिएको छ । सोही विषयले आज संसदमा पनि प्रवेश पाएको हो ।

प्रकाशित: ६ जेष्ठ २०७९, शुक्रबार ०८:५०

Leave a Reply