No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

बोलिभियाकी पूर्वराष्ट्रपति अनेजलाई १० बर्षको जेल सजाय

0

बोलिभियाकी पूर्व राष्ट्रपति जेनिन अनेजलाई १० वर्षको जेल सजायको फैसला भएको छ । उनलाई गिरफ्तार गरेको झण्डै एक वर्षपछि अदालतले शुक्रबार १० वर्ष जेल सजायको फैसला सुनाएको हो ।

अहिले ५४ वर्ष भएकी अनेजलाई गत वर्ष सन् २०२१ को मार्चमा गिरफ्तार गरेर अदालतमा सुनुवाइ र अनुसन्धान प्रक्रिया चलाइएको थियो । उनले भने आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएकी छन् । आफूलाई राजनीतिक पूर्वाग्रहका आधारमा झुटा आरोपहरू लगाइएको उनको भनाई छ ।

पूर्व राष्ट्रपति अनेजले आरोपलाई अस्वीकार गरेपनि अदालतले दोषी ठहर गर्दै कारागार सजाय दिनुपर्ने फैसला गरेकाले उनले महिला कारागारमा तोकिएको समय बिताउनु पर्ने भएको छ । उनलाई लापाज स्थित कारागारमा राखिने अधिकारीहरूले जनाएका छन् । उनले संविधानले दिएको आफ्नो जिम्मेबारी र अधिकारभन्दा बाहिर गएर अपराध गरेको देखिएकाले उनलाई सजायको फैसला गरिएको अदालतको भनाई छ ।

उनका विपक्षीहरूले भने उनलाई कम्तीमा १५ वर्ष जेल सजाय हुनुपर्ने माग अदालतसँग गरेका थिए । उनलाई राष्ट्रपति हुनुअघि सिनेटर भएको बेला देखि कै विभिन्न आरोपहरू लगाइएको छ ।

दक्षिणपन्थी नेतृ अनेज सन् २०१९ को नोभेम्बरदेखि ठिक एक वर्ष बोलिभियाको अन्तरिम राष्ट्रपति बनेकी थिइन् । त्यसअघि उनी बोलिभियाको सिनेटको उपाध्यक्ष थिइन् । उनले तत्कालीन राष्ट्रपति इभो मोरालेजले राजीनामा दिएपछि आफैलाई अन्तरिम राष्ट्रपति घोषणा गरेकी थिइन् ।

मोरालेजले गराएको निर्वाचनमा धाँधली भएको भन्दै देशभरी चर्को विरोध भएपछि उनले राजीनामा दिन वाध्य हुनु परेको थियो । राजीनामापछि आफूलाई असुरक्षा महसुस भएको भन्दै उनले मेक्सिकोमा शरण लिएका थिए ।

उनले देश छाडेकाले पनि अन्तरिम राष्ट्रपतिको जिम्मेबारी सम्हाल्न अनेजलाई सजिलो भएको थियो । अनेज राजनीतिमा आउनु भन्दा अगाडि अधिवक्ता तथा लोकप्रिय टेलिभिजन कार्यक्रम प्रस्तोता थिइन् ।

प्रकाशित: २८ जेष्ठ २०७९, शनिबार ०७:४४

Leave a Reply