No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

गठबन्धनले सबथोक गरिदिन्छ भनेर नबसौंः माधव नेपाल

0

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीका नेता कार्यकर्तालाई गठबन्धनको गीत गाएर नबस्न निर्देशन दिएका छन् ।

आइतबार सम्पादकहरुसँगको अन्तरक्रियमा अध्यक्ष नेपालले गठबन्धनबाटै सबैथोक हुन्छ भनेर ढुक्क नबन्न निर्देशन दिएका हुन् । उनले आगामी संसदीय निर्वाचनसम्म पार्टीलाई बलियो बनाउन संगठन निर्माणमा खटिनुपर्ने बताए । उनले भने, ‘गठबन्धनले सबथोक गरिदिन्छ भनेर नबसौं । स्थानीय तहमा संगठन निर्माण गरी पार्टीलाई बलियो बनाउन लाग्नुपर्छ ।’

अध्यक्ष नेपालले स्थानीय तह निर्वाचनमा पनि पार्टीले सम्मानजनक मत पाएको बताए । महानगरपालिका र उपमहानगरपालिकामा प्रमुख पद जितेको र विभिन्न गाउँपालिकाहरुमा अध्यक्ष पद जितेको बताउँदै उनले अझै सक्रिय भएर जनताको घरघरमा जान सके आगामी निर्वाचनमा महत्वपूर्ण मत पाउन सकिने बताए।

उनले मतदाताहरुलाई मतपत्र बारे राम्ररी बताउन नसक्दा पनि मत बदर भएको र पार्टीका उम्मेदवारले हार ब्यहोर्नुपरेको बताए। उनले आगामी संघीय निर्वाचनमा गठबन्धनबीच सिट बाँडफाँटका मापदण्ड तय गर्न चाँडै नै छलफल शुरु गर्नुपर्ने बताए । अध्यक्ष नेपालले समयमै छलफल नगर्दा स्थानीय तह निर्वाचनमा गठबन्धनमा केही समस्या देखिएको बताए ।

संघीय निर्वाचनमा त्यस्तो हुन नदिनका लागि सकेसम्म चाडो छलफल सुरु गर्नुपर्ने उनले बताए । उनले भने,‘गठबन्धन पूर्ण रुपमा इमानदार भएको भए केही जिल्लामा शतप्रतिशत नतिजा आउने रहेछ भन्ने प्रमाणित भएको छ । त्यसैले संघीय निर्वाचनमा सिट बाँडफाटका लागि अहिलेदेखि नै छलफलको आवश्यकता छ।’ उनले स्थानीय तह निर्वाचनको तुलनमा संघीय निर्वाचनमा गठबन्धनबीचमा तालमेल त्यति धेरै पेचिलो नहुने समेत बताए।

प्रकाशित: ५ असार २०७९, आईतवार १०:४६

Leave a Reply