No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अफगानिस्तानमा भूकम्पमा परी मृत्यु हुनेको संख्या एक हजार पुग्यो

0

अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पका कारण करिब एकहजार जनाको मृत्यु भएको र सयौँ मानिस घाइते भएका छन् । पाक्तिका प्रान्तबाट प्राप्त तस्बिरहरूमा पहिरो गएको र कच्ची घरहरू भत्किएको देखिन्छ ।

उद्धारकर्ताहरू त्यहाँ घाइतेको उपचारमा दौडधुप गरिरहेका छन्। यसअघि सामाजिक सञ्जालमा प्रेषित तस्बिरहरूमा स्ट्रेचर, भग्नावशेषहरू र भत्किएका घरहरूबाट घाइते ओसारिएको देखिएको थियो ।

दुर्गम स्थानहरूमा हेलिकप्टर प्रयोग गरेर घाइतेहरूलाई अस्पताल लगिएको छ । तालिबान नेता हिबतुल्लाह अखुन्जादाले भूकम्पका कारण सयौँ घरहरू भत्किएको र मृतकको सङ्ख्या बढ्न सक्ने बताएका छन् ।

यसअघि विपद् व्यवस्थापन हेर्ने सहायक मन्त्री शरफुद्दिन मुस्लिमले पत्रकार सम्मेलनमा कम्तीमा ९२० जनाको मृत्यु भएको र थप ६०० जना घाइते भएको बताएका थिए ।

भूकम्पको केन्द्रबिन्दु दक्षिणपूर्वी अफगानिस्तानको खोस्त सहरभन्दा झन्डै ४४ किलोमिटर टाढा रहेको बताइएको छ । मध्यरातपछि भूकम्प आएको बेला धेरै मानिसहरू सुतिरहेका थिए । अमेरिकी भौगर्भिक अध्ययन निकाय यूएसजीएसका अनुसार उक्त भूकम्प ६.१ म्याग्निट्यूडको थियो र ५१ किलोमिटर भित्र गएको थियो ।

अफगानिस्तानबाहेक पाकिस्तान र भारतसम्म पनि उक्त भूकम्पको धक्का महसुस भएको युरोपेली भूकम्प मापन केन्द्र ईएमएससीले जनाएको समाचारसंस्था रोएटर्सले उल्लेख गरेको छ।

प्रकाशित: ८ असार २०७९, बुधबार १४:३२

Leave a Reply