No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न ओलीको निर्देशन

0

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कृषि तथा पशुपंक्षी विकासमन्त्री महिन्द्रराय यादवको राजीनामा माग गरेका छन् । शनिबार अखिल नेपाल किसान महासंघले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अन्य देशमा समयमा किसानलाई मल दिन नसकेपछि कृषिमन्त्रीले राजीनामा दिने गरेको उल्लेख गर्दै कृषिमन्त्री यादवलाई राजीनामा गर्न सुझाव दिए ।

उनले मलको तत्काल व्यवस्था गर्न बाध्य हुने गरी सरकारविरुद्ध आन्दोलन गर्न पनि पार्टी निकट अखिल नेपाल किसान महासंघलाई निर्देशन दिए । अध्यक्ष ओलीले किसानले मल नपाईरहेका बेला चुप लागेर बसेको भन्दै महासंघका नेता, कार्यकर्ताप्रति आक्रोश समेत व्यक्त गरे । उनले किसानसँग सरोकार राख्ने हरेक विषयमा महासंघले सरकारलाई बुझ्ने भाषामा दवाव दिनुपर्ने बताए ।

उनले भने, ‘मल पाउँदैन, तपाईहरु चुप लागेर कानमा तेल हालेर बस्नु हुन्छ । मल ल्याउन बाध्य पार्नु पर्दैन सरकारलाई ? दुनियाँमा त मल दिएन भने त कृषिमन्त्रीले त तत्काल राजीनामा दिनुपर्छ, के हेरेर बस्ने ?’

अध्यक्ष ओलीले आफूले सरकार छोडेको एक वर्षमै ४९ अर्ब बराबरको चामल आयात गरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरे । उनले कृषि प्रदान देशमा, उर्वर जमिन भएको देशमा एक वर्षमा ठूलो परिणाममा चामल आयात गर्नु अशोभनीय भएको बताए । अध्यक्ष ओलीले सरकारले कृषि क्षेत्रको उत्थान हुने गरी केही पनि काम गर्न नसकेको आरोपसमेत लगाए ।

प्रकाशित: १८ असार २०७९, शनिबार १२:१५

Leave a Reply