No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

चितवनमा साउनदेखि चालक अनुमति पत्रको प्रयोगात्मक परीक्षा हुने

0

चितवन । चितवन जिल्लामा पहिलो पटक सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा हुने भएको छ । आगामी साउन दोस्रो साताबाट परीक्षा लिने गरी तयारी गरिएको छ । यातायात व्यवस्था सेवा कार्यालय चितवनका प्रमुख विनोद पौडेलका अनुसार सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अब चितवनबाटै लिन सकिने छ ।

कार्यालयले लाइसेन्स वितरणको सम्पूर्ण तयारी गरेपछि साउनको दोस्रो सातादेखि प्रयोगात्मक परीक्षासमेत भरतपुरमै हुने उनको भनाइ छ । प्रयोगात्मक परीक्षाका लागि निजी क्षेत्रबाट ‘ट्रायल सेन्टर’ लिन लागिएको छ । पौडेलको भनाइमा दुई वटा कम्पनी प्राविधिक छनोटमा परेका छन् ।

यही असार २३ गते ती कम्पनीको आर्थिक प्रस्ताव जिल्ला प्रशासन कार्यालयमा खोलिँदै छ । त्यसपछि सात दिनको आसय र १५ दिनका सम्झौताका लागि सूचना जारी गर्नुपर्ने हुन्छ । उनले भने “यो प्रक्रिया अघि बढ्दै गर्दा हामी अनलाइनमा फाराम खोल्नेछौँ ।”

अथवा साउन दोस्रो साताबाट प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । चितवनमा ट्रायल सेन्टर उपलब्ध गराउने भनी छ वटा सेन्टरले प्राविधिक तथा आर्थिक प्रस्ताव पेश गरेका थिए ।

प्राविधिक प्रस्तावको मूल्याङ्कनमा महालक्ष्मी ट्रायल सेन्टर र सदगुरू ड्राइभिङ छनोटमा परेका छन् । थोरै शुल्क लिएर ट्रायल सेन्टर उपलब्ध गराउने प्रस्ताव पेश गर्ने एउटा ट्रायल सेन्टर आर्थिक मूल्याङ्कनमा छनोटमा पर्ने प्रमुख पौडेलले बताए । चितवनबाट सुरूमा ‘क’, ‘ख’ र ‘ग’ वर्गको सवारीसाधनको ट्रायल लिइने उनले जानकारी दिए ।

‘क’ वर्गमा मोटरसाइकल, स्कुटर, मोपेड, ‘ख’ वर्गमा चार र तीनपाङ्ग्रे साना सवारीसाधन र ‘ग’ वर्गमा हेभी र मझौला आकारका सवारीसाधन पर्छन् । जिल्लाका बासिन्दा अनुमतिपत्रका लागि हेटौंडा, वीरगन्ज, कावासोती, काठमाडौं लगायतका ठाउँमा जानु पर्ने बाध्यता रहेको छ । उहाँको भनाइमा हेटौंडामा जाने ७० प्रतिशत चितवनका हुन् ।

कावासोतीमा जानेमा आधा यही जिल्लाका छन् । हेटौंडामा सातामा चार सय हाराहारी कार र एक हजार हाराहारी दुई पाङ्ग्रे सवारीका लागि अनुमति पत्र लिनेहरुले परीक्षा दिँदै आएका छन् । उनका अनुसार हेटौंडाको भन्दा केही बढी चितवनमा हुनेछन् ।

प्रकाशित: २१ असार २०७९, मंगलवार ०७:४८

Leave a Reply