No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

टेण्डर नपरेपछि भएन चामल ढुवानी

0

दाङ । टेण्डर (बोलपत्र) नपरेपछि खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले चामल ढुवानी गर्न सकेको छैन । दशैँलाई लक्षित गरी चाम ढुवानीका लागि कम्पनीले बोलपत्र आह्वान गरेको थियो । तर कसैले टेण्डर नहाल्दा चामल ढुवानी अन्योलमा छ ।

पुनः दोस्रोपटक बोलपत्र आह्वान गरेर चामल ढुवानी गर्ने तयारी रहेको कम्पनीका तुलसीपुर प्रमुख तुलसी सुनारले बताए । उनका अनुसार रुकुमपूर्व, रुकुमपश्चिम र डोल्पाको लिखुमा चामल ढुवानीका लागि पुनः बोलपत्र आह्वान गर्न लागिएको हो । “पुनः टेण्डर आह्वान गरी चामल ढुवानीका लागि तयारी गर्दैछौँ”, उनले भने ।

पहाडी जिल्लामा चामल पुर्याउन तुलसीपुरमा चामल मौज्दात राख्ने गरिन्छ । अहिले करिब चार हजार आठ सय क्विन्टल चामल यहाँ मौज्दात छ । टेण्डर नपरेपछि अहिले कार्यालयले आफैँले ढुवानीअनुसारको भुक्तानी गर्ने गरी रुकुमपूर्व र रुकुमपश्चिममा चामल पठाएको छ । ढुवानी रकम महँगो भएकाले पनि टेण्डर हाल्न नमानेको हुनसक्ने उनले भने । “अहिले पेट्रोलको मूल्य बढेको छ, ढुवानी मूल्य बढाउन सकिएको छैन”, सुनारले भने ।

चाडपर्वलाई लक्षित गरी चामलको मूल्य पनि घटाइएको छ । चालममा प्रतिकिलो सात रुपैयाँका दरले छुट दिएको उनले बताए । बास्मती चामलको मूल्य प्रतिकिलो एक सय तीन, जिरा मसिनो प्रतिकिलो ६० र सोना मन्सुलीको मूल्य प्रतिकिलो ४३ रुपैयाँपर्छ ।

दाङमा धान प्रसस्त फल्छ । सुनारका अनुसार दाङमा कम्पनीको चामल वार्षिक दुई सय क्विन्टल मात्रै खपत हुने गरेको छ । अन्य पहाडी जिल्लामा अत्यधिक मात्रामा चामल खपत हुन्छ । खाद्य कम्पनीले सस्तो र गुणस्तरीय चामल उपलब्ध गराउनेबारे जानकारी नभएर पनि बजारबाट किन्ने गरेको उनको भनाइ छ । तुलसीपुरमा कम्पनीको गोदममा पाँच हजार क्विन्टल चामल भण्डारण गर्न सकिने कार्यालयले जनाएको छ ।

प्रकाशित: ७ आश्विन २०७९, शुक्रबार ०३:०८

Leave a Reply