No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

तीस वर्षपछि आमनेसामने हुँदै शाक्य र कँडेल

0

सुरेश आचार्य, सुर्खेत । प्रजातन्त्रको पुनःस्थापनापछि विभिन्न समयमा निर्वाचनहरु भए र ती निर्वाचनहरुमा राजनीतिक दलका उम्मेदवारबीचको प्रतिस्पर्धामा जनताको अभिमतका आधारमा कोही विजयी र कसैले पराजय भोग्नु पर्दछ । एकै निर्वाचन क्षेत्रमा ३० वर्षअघि प्रतिस्पर्धामा रहेका दुई नेताबीच यसपटकको प्रदेशसभा निर्वाचनमा पुनःआमनेसामने हुँदैछन् ।

विसं २०४९ मा भएको पहिलो स्थानीय निकायको निर्वाचनमा प्रतिस्पर्धा गरेका नेपाली कांग्रेसका कालीप्रसाद शाक्य र नेकपा एमालेका यमलाल कँडेलबीच मङ्सिर ४ गते हुने प्रदेशसभाको निर्वाचनमा कडा प्रतिस्पर्धा हुँदैछ । त्यतिबेला काँग्रेसका शाक्यलाई पराजित गरेर एमालेका कँडेल वीरेन्द्रनगर नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएका थिए ।

सत्ता–गठबन्धनका तर्फबाट सुर्खेत क्षेत्र नम्बर २ प्रदेशसभा (१) बाट उम्मेदवार बनेका कांग्रेसका शाक्यलाई एकीकृत समाजवादीबाहेकका दलको समर्थन छ भने एमालेले कँडेललाई उम्मेदवार बनाएर एक्लै चुनावी मैदानमा उतारेको छ । यस क्षेत्रमा नेकपा (एकीकृत समाजवादी) का शिवप्रसाद उपाध्याय, राप्रपाका सूर्यबहादुर खत्रीसहित १० उम्मेदवार प्रतिस्पर्धामा छन् ।

मुख्यमन्त्री बन्ने योजनासहित २०७४ को निर्वाचनमा प्रदेशसभाको उम्मेदवार बन्नुभएका कँडेलले तत्कालीन वाम–गठबन्धनको सहयोगमा पाँच हजारभन्दा बढी मतान्तरले कांग्रेसका कमलराज रेग्मीलाई पराजित गररेका थिए । यसपटक पनि मुख्यमन्त्री बन्ने योजनासहित प्रदेशसभामा दोहोरिन खोजेका कँडेललाई गठबन्धनका शाक्य चुनौती बनेका छन् ।

गठबन्धनको बलमा आफूले चुनाव जित्ने शाक्यको दाबी छ । उम्मेदवार शाक्य भन्छन्, “मेरो उम्मेदवारीबाट सिङ्गो पार्टी र गठबन्धन उत्साही बनेको छ । मजबुत सङ्गठन र गठबन्धन दलको सहयोग मेरो जित्ने आधार हो ।” कांग्रेस महासमिति सदस्य शाक्य आफू जित्ने र तीन दशकअघिको पराजयको बदला लिने दाउमा छन् ।

कांग्रेसका पूर्वजिल्ला उपसभापति, पटकपटक महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य भएका शाक्यले जिल्ला समन्वय समिति संयोजक बन्ने योजनासहित २०७४ को स्थानीय तह निर्वाचनमा वीरेन्द्रनगर–९ को वडा सदस्यमा उम्मेदवारी दिएका थिए । तर, उनी झिनो मतान्तरले पराजित भएका थिए ।

शाक्यले कँडेल र उपाध्यायभन्दा आफू बलियो उम्मेदवार भएको दाबी गरे । “पार्टीमा एकता र वाम गठबन्धनको सहयोगले मैले चुनाव जित्ने पक्का छ, विसं २०४९ यता कँडेलले सुर्खेतका लागि गरेको विकास जनताले हेरिसकेको छ”, उनले भने, “उहाँले ३० वर्षसम्म जनतालाई भोट बैंकका रुपमा मात्रै प्रयोग गर्नुभयो, हरेक पटक उहाँको झुटो आश्वासनबाट हैरान भएका छन्, अब उनीहरूले नयाँ अनुहारलाई जिताउनेछन् ।”

यता एमाले एमाले स्थायी कमिटी सदस्यसमेत रहेका कँडेल पनि आफ्नो विजयी यात्रा जारी राख्ने लक्ष्यमा छन् । एमालेका कँडेल हाल पार्टीको कर्णाली प्रदेश इञ्चार्ज र स्थायी कमिटी सदस्य हुन् ।

विसं २०५१ मध्यावधि र २०७४ को संविधानसभा निर्वाचनमा विजयी बने भने विसं २०५६ को संसदीय र २०७० को संविधानसभा निर्वाचनमा कांग्रेसका हृदयराम थानीसँग पराजित भएका थिए । विद्यार्थी राजनीतिदेखि नै थानी–कँडेल निरन्तर प्रतिस्पर्धामा रहे ।

यसअघि मुख्यमन्त्री हुने योजनासहित प्रदेशसभामा निर्वाचित कँडेल मुख्यमन्त्री बन्न भने सकेनन् । त्यतिबेला साविक पूर्वमाओवादीको भागमा कर्णालीको मुख्यमन्त्री परेपछि कँडेलको योजना असफल भएको थियो । यसपालि फेरि मुख्यमन्त्री हुने योजनासहित कँडेल आफूभन्दा कनिष्ट एमाले नेताहरूलाई प्रतिनिधिसभामा पठाएर प्रदेशमै लडेका छन् ।

“केन्द्र, प्रदेश जहाँ भए पनि सङ्घीयता कार्यान्वयनमा भूमिका निर्वाह गर्ने हो”, एमाले उम्मेदवार कँडेलले भने । प्रदेशसभाको पहिलो कार्यकालले उल्लेख्य काम गर्न नसकेकाले पुनःप्रदेशसभाकै उम्मेदवार बनेको एमाले उम्मेदवार कँडेलले बताए ।

विसं २०४९ मै वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख जितेका एकीकृत समाजवादीका नेता शिवप्रसाद उपाध्याय पनि शाक्य र कँडेलसँग प्रतिस्पर्धामा उत्रिएका छन् । उनीहरू तीनै जनाबीच प्रदेशसभा २ (क) बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा हुनेछ । तीनै जना उम्मेदवारले निर्वाचन आफूले जित्ने दाबी गरिरहेका छन् ।

एकीकृत समाजवादीबाट प्रदेशसभा सदस्य लडेका उपाध्यायले भने लामो समयसम्म सङ्घर्ष गरेकाले आफूले जित्नेमा दुईमत नभएको तर्क गरे । उनले दुई पटक वीरेन्द्रनगर नगरपालिकाको उपप्रमुख भएर काम गरेकाले पनि आफूले चुनाव जित्ने बताए । “नगरवासी र मतदाताले मलाई नजिकबाट चिन्नुभएको छ, म जित्नेमा विश्वस्त छु”, उनले भने ।

गठबन्धनभित्रै चुनावी प्रतिस्पर्धा

मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सुर्खेतमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच गठबन्धन भए पनि भाग नपाएपछि एकीकृत समाजवादीले प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्रमा आफ्ना आधिकारिक उम्मेदवार उठाएको छ ।

एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ (क) र (ख) मा उम्मेदवार उठाएको छ । भाग नपाएपछि प्रदेशसभाका दुई वटा निर्वाचन क्षेत्रमा उम्मेदवार अगाडि सारेको एकीकृत समाजवादीले ती दुई क्षेत्रमा समाजवादीका नेताहरुले दलबाट आधिकारिक टिकट लिएर चुनावी प्रचारमा लागेका छन् ।

भागबण्डामा नपरेपछि असन्तुष्टि जनाउँदै पार्टीको जनमतका आधारमा उम्मेदवारी दिएको एकीकृत समाजवादीका जिल्ला तहका नेताहरुको दाबी रहेको छ । एकीकृत समाजवादीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ (क) मा शिवप्रसाद उपाध्याय र (ख)मा मोहनसिंह बडुवाललाई गठबन्धनविरुद्ध उम्मेदवार बनाएको छ ।

यसरी सुर्खेतका दुई प्रदेशसभा निर्वाचन क्षेत्रमा गठबन्धन दलहरुभित्रै चुनावी प्रतिस्पर्धा हुने भएको छ । भागबण्डामा यो निर्वाचन क्षेत्रमा प्रदेशसभा २ (क) नेपाली कांग्रेस र (ख) नेकपा माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनका तर्फबाट (क) मा कांग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन् ।

सुर्खेतमा जनमतको कदर गर्दै दलबाट छुट्टै उम्मेदवारी परेको एकीकृत समाजवादी सुर्खेतका अध्यक्ष प्रदेशसभा सदस्यका उम्मेदवार मोहनसिंह बडुवालले बताए । “गठबन्धनको निर्णय जेसुकै भए पनि जनताको साथ हामीसँग छ”, उनले भने, “पार्टीको केन्द्रीय निर्णयअनुसार नै आधिकारिक टिकट आएपछि उम्मेदवारी दिएका हौँ”, उनले भने, “जनमत हाम्रो पक्षमा भएकाले हामी चुनावमा होमिएका हौँ ।”

 

प्रकाशित: २७ कार्तिक २०७९, आईतवार ०९:०५

Leave a Reply