No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

पूर्वी नवलपरासी–१ मा विरासत जोगाउने र भत्काउनेबीच प्रतिस्पर्धा

0

कावासोती । प्रतिनिधिसभातर्फ दुई निर्वाचन क्षेत्र रहेको पूर्वी नवलपरासीमा सत्ता गठबन्धनबाट प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशाङ्क कोइराला र नेकपा एमालेबाट केन्द्रीय सदस्य कृष्ण पौडेलबीचको प्रतिस्पर्धालाई चासोको रूपमा हेरिएको छ ।

प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को (१) मा सत्ता गठबन्धनबाट कांग्रेस जिल्ला सभापति महेन्द्रध्वज जिसी र एमालेबाट एमाले केन्द्रीय सदस्य रवीन्द्र अधिकारी मैदानमा छन् भने क्षेत्र नम्बर १ को (२) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का लोकप्रसाद भूर्तेल र एमालेबाट रोशनबहादुर गाहाले उम्मेदवारी दिएका छन् ।

विसं २०४८ देखि यो क्षेत्रमा निरन्तर नेपाली कांग्रेसले जित्दै आएकाले यसपटक पनि कांग्रेस आफ्नो विरासतलाई निरन्तरता दिने प्रयत्नमा छ ।

कांग्रेसको विरासत यसपटक भत्काउने प्रयत्नमा एमाले रहेको छ । कांग्रेसका कोइरालाले विसं २०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका भविश्वर पराजुलीलाई चार हजार २४ मतान्तरले हराएका थिए ।

यो निर्वाचन क्षेत्रमा पर्ने ५२ वटा वडामध्ये गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनमा नेपाली कांग्रेसले २६, एमालेले २५ र माओवादी केन्द्रले एउटा वडाको वडाध्यक्षमा जित निकालेका थिए ।

यो क्षेत्रमा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवारले ४० हजार पाँच सय ११, एमालेको ३९ हजार नौ सय ५१, राप्रपाको दुई हजार तीन सय ७३, माओवादीको एक हजार नौ सय २१ र जसपाका उम्मेदवारले एक सय ८८ मत पाएका थिए ।

निर्वाचन क्षेत्र नम्बर १ मा पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीसहित पूर्वी भाग पर्दछ । आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि कूल दुई लाख ६० हजार चार सय ६१ मतदातामध्ये यहाँ एक लाख ३१ हजार एक सय ८० मतदाता रहेका जिल्ला निर्वाचन प्रमुख लालप्रसाद भुसालले जानकारी दिए ।

क्षेत्र नं १ प्रदेशसभा (१) मा ६३ हजार पाँच सय ३५ र प्रदेशसभा (२) मा ६७ हजार छ सय ४६ मतदाता छन् । गत स्थानीय तहको निर्वाचनमा तीन पालिकामध्ये एकमा नेपाली कांग्रेस र दुईमा एमाले विजयी भएको थियो ।

गैँडाकोट नगरपालिकाको प्रमुख र उपप्रमुख कांग्रेसले, देवचुली नगरपालिकाको प्रमुख र उपप्रमुख एमाले र बुलिङ्टारको अध्यक्षमा एमाले र उपाध्यक्ष कांग्रेसले जितेको थियो ।

प्रकाशित: २७ कार्तिक २०७९, आईतवार १३:४४

Leave a Reply