No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

अनि राजनीतिक स्थिरता ?

0

केशवप्रसाद भट्टराई । 
१. ठूलो विकास, प्रगति र समृद्धि हाँसिल गरेका मुलुकहरुले सिकाएको पाठ के हो भने जव कम्तीमा जुन मुलुकमा २० वर्ष सम्म आर्थिक नीतिमा स्थिरता हुन्छ, राजनीतिक अशान्ति र अस्थिरता हुन्न, यौटै वा धेरै ठूलो नीतिगत मतभेद नभएको दुई दलको शासन हुन्छ । जहाँ बलियो कानुन, बलियो सरकार र बलिया राज्य संरचना हुन्छ त्यही मुलुकले ठूलो र असाधारण आर्थिक समृद्धि आर्जन गर्दछ ।

२. उदाहरण जापानले १९६० –१९८०को अवधिमा, दक्षिण कोरियाले १९६२–८० को अवधिमा, चीनले १९८०–२०००को अवधिमा, भारतले १९९०–२०१०को अवधिमा, सिङ्गापुरले १९७०–१९९० र बोत्सवानाले १९६७–१९८८को अवधिमा, भियतनामले १९८५– २००७को अवधिमा अर्थात् १८–२० वर्षको अवधिमा विशाल प्रगति गरे त्यसैको बलमा आज उनीहरू स्वाभिमान र सम्मानका साथ उभिएका छन् ।

३. राजा महेन्द्र र राजा वीरेन्द्रले गरेर लगातार २९ वर्ष शासन गरे । जापान, कोरिया,ताइवान, थाइल्यान्ड, मलेसिया, बोत्सवानाहरूले १८–२० वर्षको अवधिमा त्यत्रो उपलव्धि आर्जन गर्दा २९ वर्ष सम्म हामीले राजाहरूको एकलौटी शासन रह्यो । हामी उठ्न सकेनौ । १९९०–९१ अर्थात २०४६ पछि सवै किसिमको शासन आयो , बेहोरियो, २०६२–६३ को परिवर्तनपछिको अवधि पनि दुई दशक हुन लाग्यो । हामी कहाँ छौँ, भन्न परेन ।

४. २०४६–४७ पछि बाटो–घाटो, स्कूल, अस्पताल, टेलिफोन –बिजुली आदि क्षेत्रमा ठूलो प्रगति भयो । तर त्यो प्रगतिले राष्ट्रिय उत्पादकत्वमा वृद्धि त ल्याएन । रोजगारीको अवशरमा त वृद्धि ल्याएन । सरकारको साधारण खर्च धान्न पनि राजस्वले नभ्याउने भएको त अर्थमन्त्रीले नै भन्नुभएको छ । कर्मचारीलाई तलव खुवाउन वाह्य सहयोग माग्ने अवस्था आएको त प्रधा मन्त्रीले नै भन्नु भएको छ । हरेकका हातमा मोबाइल छ, कम्प्युटर नभएको घर खास गरेर शहर –बजार क्षेत्रमा कमै होलान् – इन्टरनेटको पहुँच जिल्ला जिल्लामा बस्ती बस्तीमा पुगेको तर त्यसले ज्ञानको उत्पादनमा योगदान कति गरेको छ ? स्कूल, कलेज र विश्वविद्यालयहरूले ज्ञान उत्पादन गरेका छन् ? प्रविधि विकास गरेका छन् ?

५. मुलुकले कमाई नगर्ने, उत्पादन नगर्ने तर सस्तो लोकप्रियताका वितरणमुखी कार्यक्रममा दलीय प्रतिष्पर्धाबाट कहिल्यै राष्ट्र उठ्छ ? सरकारी आयले सरकारको साधारण खर्च पनि धान्न नसक्ने अवस्थामा विकास र समृद्धि कुरा शुद्ध फट्याँई बाहेक केही होइन ।

६. नीतिगत स्थिरता, कुनै सरकारी वा राजनीतिक व्यवधान विना सवैलाई राज्यले तोकेको क्षेत्रमा कानुनले तोकेका प्रक्रिया र चरण पुरा गरेर आफूले रोजेको उद्योग–व्यापार र व्यवशाय संचालन गर्न निर्वाध स्वतन्त्रता, सरकारको सम्बन्धित निकायलाई जानकारी दिएर सो को निस्सा प्राप्त गरेपछि त्यस्तो उद्योग व्यापार व्यवशाय गर्ने पूर्ण छुट र त्यसमा कुनै व्यवधान खडा गरी सोझै अदालतमा जानपाउने व्यवस्था नभई नेपालमा राम्रा उद्योग व्यापार व्यवसाय उठ्नै सक्दैन ।

७. पहिला सवै युवालाई उन्नत शिक्षा र कामको अवशर , व्यापक रोजगारी सिर्जना, उत्पादन वृद्धि, निर्यातमा वृद्धि, राजस्वमा वृद्धि अनि बलियो सामाजिक कल्याण र सुरक्षाका व्यवस्था पो गर्नुपर्दछ । देखासिकी डेनमार्क, नर्वे, फिनल्याण्डहरूको अनि अर्थतन्त्र बुरुण्डी, यमन र अफगानिस्तानको जस्तो । सपना जापान , सिंगापुर र दक्षिण कोरियाको देख्ने बाटो सियरालियोन र सोमालिया र कङ्गोको लाग्ने । मुलुकको विकास र समृद्धिको नेतृत्व सरकारले गर्दैन –निजी क्षेत्रले गर्दछ । सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदिन्छ, प्रेरणा र प्रोत्साहन प्रदान गर्दछ र सार्वजनिक हित र सुरक्षाको दृष्टिले तिनलाई नियमन गर्दछ । मुलुकको स्वतन्त्रता र प्रभुसत्ताको प्राण मुलुकको अर्थतन्त्रमा रहेको हुन्छ र उद्योगी, व्यवशायी र व्यापारीहरू मुलुकको अर्थतन्त्रको प्राण शक्ति बनेका हुन्छन् । श्रमिकहरू राष्ट्रको अर्थतन्त्रका मेरू दण्ड बनेका हुन्छन् । राजनीतिक दलसँगको सम्बन्धले नभएर ज्ञान, शीप, प्रविधिमा पहुँच र कुशलताले श्रमिकलाई अभिप्रेरित र सशक्त बनाएको हुन्छ । कार्यक्षेत्रमा काम गर्ने, साप्ताहिक वा मासिक पारिश्रमिक प्राप्त गर्ने श्रमिकले श्रमिक संगठनहरूको नेतृत्व गरेको हुन्छ र श्रमिक संगठन र रोजगारदाता वीचको स्वास्थ्य सामाजिक संवादको प्रक्रियाले मुलुकको औद्योगिक र व्यवसायिक वातावरणलाई सहज, उत्तरदायी र शान्तिपूर्ण बनाइरहेको हुन्छ ।

८. माथि शुरूमा भनियो– जुन मुलुकमा २० वर्ष सम्म आर्थिक नीतिमा स्थिरता हुन्छ, राजनीतिक अशान्ति र अस्थिरता हुन्न, एउटै वा धेरै ठूलो नीतिगत मतभेद नभएको दुई दलको उत्तरदायी, पारदर्शी र प्रतिनिधिमूलक शासन हुन्छ । त्यो मुलुकमा मात्रै विकास,प्रगति र समृद्धिको सम्भावना हुन्छ । त्यहाँ परराष्ट्र नीतिमा एकता र स्थीरता हुन्छ । नेपालको परराष्ट्र नीतिले पनि नेपालको विकास, प्रगति र समृद्धिलाई छेकेको –रोकेको छ । ठूलो र शक्तिशाली छिमेकीको रणनीतिक चिन्ता, सरोकारलाई उपेक्षा गरेर, ऊ विरूद्ध निन्दा र घृणा फैलाएर, राष्ट्रवादको नाउमा परस्पर प्रतिद्वन्द्वी राष्ट्रको कार्ड एक अर्का विरूद्ध खेलेर हामी मित्र राष्ट्रहरूबाट हार्दिक र सहयोगात्माक र मित्रतापूर्ण सम्बन्धको अपेक्षा गर्दछौँ ।मुलुकको परराष्ट्र नीतिमा हाम्रो मोडेल पृथ्वी नारायण शाह, बहादुर शाह, जङ्गबहादुर चन्द्र र जुद्द समशेरहरू नै हुन् ।

९. अनि अन्त्यमा, हामीले सामान्यतया आम नेपालीको भावनालाई यो वा त्यो रूपमा जोड्ने राजसँस्थालाई हटायौँ । ठिक नै गर्यौँ होला रे लौ । तर राजाको विकल्पमा दुई राष्ट्रपतिको अभ्यास र अनुभव पनि गर्यौँ । उहाँहरूको बारेमा केही नभनौ रे लौ । फेरि नयाँ राष्ट्रपतिको चुनावको समय आएको छ । सम्पूर्ण नेपालीले सम्मान र आदर गर्न सक्ने, सम्पूर्ण नेपालीको भावनालाई प्रतिनिधित्व गर्नसक्ने व्यक्ति खोज्न त नसकिएला, राजनीतिक दलका नेताहरूको महत्वाकांक्षाका कारण पनि त्यो सम्भव नहोला । तर विहान कतै रेडियोमा सुन्दै थिएँ – हालै सम्पन्न संसदीय निर्वाचनमा पराजित व्यक्ति र राष्ट्रिय दलको मान्यता पनि नपाएको कुनै दलका कथित सम्मानित नेता राष्ट्रपतिको लागि आफ्नो दावी प्रस्तुत गर्दै थिए । हाम्रो गणतन्त्र , हाम्रो उत्कृष्ट संविधान अन्तर्गतको ससदीय निर्वाचनमा जुन दलले राष्ट्रिय मान्यतानै प्राप्त गर्न सकेन, अन्य दलकै भरमा केही सिट हात पर्यो तर उसलाई राष्ट्रपति र पालोमा प्रधानमन्त्री पनि चाहियो । अनि राजनीतिक स्थिरता ???

प्रकाशित: ५ पुष २०७९, मंगलवार १५:५९

Leave a Reply