No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राप्रपाले सत्ताको गोलचक्करमा फसेर आफूलाई ध्वस्त बनाउने कि अलग पहिचान कायम राख्ने ?

0

जनकराज पाठक ।
नेपाली राजनीतिमा सत्तालोलुपको निमित्त दलहरुले जनताको मागलाई सम्वोधन गर्ने भन्दा नि व्यक्तिगत चिन्तन बढी बोकेको कारण विचार,नीति,सिद्धान्त भन्दा सत्ता प्राथमिकता मा राखेका देखिन्छ । यस्ता दलहरु अस्थिर हुन्छन् तसर्थ यिनीहरुले व्यवस्थाको रक्षा गर्न सक्दैन अन्ततः व्यवस्था धरापमा पर्ने निश्चित छ।

जुनदेशमा जस्तो व्यवस्था छ तदनुरुपका सरकार बन्छन् । सरकारको नेतृत्व कस्तो चिन्तन,चरित्र भएको व्यक्तिले गरेको छ महत्वपूर्ण विषय त्यो हो । यदाकदा भन्ने गरिन्छ प्रजातन्त्रमा व्यक्ति गौण हुन्छन् यद्दपी नेतृत्व तहमा रहेको व्यक्तिको आचरण,चरित्र र चिन्तनले ठुलो महत्व राख्छ,यो व्यवस्थालाई कस्ता चरित्रका कस्ता नेताहरुले नेतृत्व गरेका थिया र गर्दैछन यो मुख्य विषय हो।

२०४६ सलको राजनीतिक परिवर्तन पछि ०५१ देखि ०५६ को अवधिमा सवैभन्दाबढी सत्ताको लागि घृणित खेल खेल्ने व्यक्ति देउवा हुन् । नेपालको प्रजातान्त्रिक प्रक्रियामा सासंद खरिदबिक्रीदेखि सुरासुन्दरीसम्मको प्रचलन त्यहीबेला भित्रियो । सत्ता टिकाउनको निमित्त देशभित्र मात्र हैन, विदेशमा समेत सांसद लुकाएर चर्चामा आएका पात्र हुन् देउवा । मुलुकमा अपांगलाई टेक्ने वैशाखी दिन नसक्ने सरकारले सत्ता टिकाउन सवै सांसादलाई पजेरो सुविधा त्यही समय दिएको थियो ।

विषेशतः त्यो कालखण्डमा मध्यमार्गी धारको रुपमा स्थापित हुन खोजेको राप्रपा सत्ता र सुविधाको यही गोलचक्करमा फसेर ध्वस्त भयो । राप्रपालाई पटक,पटक प्रयोग गरियो,राप्रपाले आफु प्रयोग भइरहेको थाहा नै पाएन । यतिसम्म कि एउटाको क्याविनेटमा रहेका राप्रपाका मन्त्री उसैको विपक्षमा दस्तखत गर्न झन्डा हल्लाउँदै अर्को पक्षमा देखिए ।

एउटा मध्यमार्गी धारको रुपमा स्थापित दललाई कमजोर र ध्वस्त बनाउँदा मुलुक अस्थिरता तर्फ धकेलियो फलस्वरूप सिङ्गो व्यवस्था माथिनै संकट आयो र माओवादीको उदय भयो । सर्वहारा वर्गको नाममा गरियको माओवादी जनयुद्ध व्यक्ति हत्यामा रुपान्तरण भयो।दशौ हजार नेपाली, राजनीति प्रतिसोधका करण मारिए । विकास निर्माणका संरचनाहरु ध्वस्त भए । तत्कालीन देउवा सरकारले प्रचण्डको टाउकोको मोल तोक्दै ।माओवादी पार्टीलाई आतंककारीको सूचीमा राख्यो । राजनीतिक रुपमा माओवादी युद्धमा सबैभन्दाबढी क्षति सायद कांग्रेसलाई भयो तर सत्ता स्वार्थको निमित्त सबै विर्सिएका पात्र हुन् देउवा । सिद्धान्तको लिलाममा सत्ता खोज्ने व्यक्ति हुन् देउवा उनै देउवाले माओवादीसंग अपवित्र गठवन्धन गर्दै केवल सत्ता स्वार्थको निमित्त निर्वाचनमा झन्डै सकिन लागेको माओवादी लाई गतिलो स्थान दिए ।

माओवादीले मौकाको फाइदा उठाउँदै आफ्नो स्वार्थमा कांग्रेससंगै हिँडेर आफूलाई स्थापित मात्र गरेन आज मुलुकको बागडोर नै कव्जा गरेर मुलुकलाई आफ्नो मार्गचित्रमा हिँडाउने अवसर प्राप्त गरेको छ । सत्ता बाहेक केही नदेख्ने कांग्रेसले माकुने र प्रचण्डहरुबाट पुनः सत्ता प्राप्त गर्ने कसरतमा असफल प्राप्त गरेको छ । हिजो बिनाकारण माओवादीले हत्या गरेका, अंगभंग पारेका,वेपत्ता पारेका,सम्पत्ति हरण गरेका कुनै कार्यकर्ता को अनुहारको झलक समेत याद नगरेका देउवा आज प्रचण्डको कारण सायद निद्राबाट बिउँझिए होलान् ।

भागवन्डा र भ्रष्टाचारलाई संस्थागत गर्दै प्रधानमन्त्री वनेका र अहिले प्रचण्ड वाट धोखाको कारण विदा भयका देउवा को ठाउमा सोही कार्यलाई संस्थागत गर्दै प्रचण्ड पुनः उदाएका छन् । सत्ता केन्द्रित अप्राकृतिक पाँच दलिय गठवन्धन आजबाट समाप्त भएको र नयाँ गठवन्धनको सुरुवात भएको छ। लोकतन्त्रको नाममा अहिले गठित यो गठवन्धन पनि केवल सत्ताकेन्द्रित मात्र छ । प्रजातान्त्रिक व्यवस्था र सिद्धान्तसंग कुनै सम्बन्ध नराख्ने प्रचण्ड आजबाट ओलीका राजनीतिक गुरु बनेका छन् ।

यो गठवन्धनको जोड,घटाउ,र आन्तरिकको प्रतिस्पर्धाको कारण मुलुक पुनः अस्थिरता तर्फ धकेलिने र प्रचण्डयुगको सुरुवात संगै निंरकुस अधिनायकवादको पुनः उदय हुने निश्चित छ । सायद यो दिन देख्न नेपाली जनताहरुले धेरै कुर्न नपर्ला । प्रजातन्त्रको निमित्त एकरत्ति योगदान नभएका प्रजातान्त्रिक आचरण समेत नभएका प्रचण्ड र आफूलाई प्रजातान्त्रिक शक्ति र प्रजातन्त्रवादी ठान्ने एमाले एकै ठाउमा उभिने दिन आएको छ । अन्तमाः राजनैतिक स्थिरताको निमित्त वर्तमानमा सरकारलाई समर्थन गरेको राप्रपाले अब सत्ता र व्यवस्था मध्ये एक रोज्नुपर्ने अवस्था आएको छ ।

नेपालको राजनीतिमा फरक दृष्टिकोण बोकेको राजसंस्था सहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको पक्षमा रहेको राप्रपा पुनः सत्ताको गोलचक्करमा फसेर आफूलाई ध्वस्त वनाउने वा आफ्नो अलग पहिचानलाई कायम गर्दै आफूलाई बलियो शक्तिको रुपमा स्थापित गर्ने ? आजको मुल प्रश्न यहि हो । आफ्नो स्पष्ट दृष्टिकोण हुँदाहुँदै पनि विगतमा पटक,पटक ध्वस्त भएको नजिरलाई ख्याल गर्दै आफूलाई कसरी प्रस्तुत गर्ने यो गम्भीर निर्णय नयाँ नेतृत्वको काँधमा आएको छ । विगतको इतिहास र वर्तमानको अवस्थालाई राम्रोसंग विश्लेषण गरेर राप्रपा अगाडि वढोस् । आज राप्रपा सत्ता प्राप्तिको अवसर र चुनौतीबाट गुज्रिएको अवस्था छ । यसलाई कसरी व्यवस्थापन गर्ने नेतृत्वको क्षमतामा भरपर्छ ।
आगे नेता जोहरुको मर्जी ।

प्रकाशित: ११ पुष २०७९, सोमबार ०५:५९

Leave a Reply