No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

यो सरकारले १८ अर्बको विदेशी र स्वदेशी ऋृणको बोझबाट थिचिएको अर्थतन्त्रलाई सम्बोधन गर्छ ?

0

डा. युवराज संग्रौला ।
के यो सरकारले आयात रोकेर निर्यात प्रबद्र्धन गर्छ ? अहिलेको १७ खर्बको आयात ब्यापार घाटा र १८ अर्बको विदेशी र स्वदेशी ऋृणको बोझबाट थिचिएको अर्थतन्त्रलाई सम्बोधन गर्छ ? के यो सरकार किसानलाई मल उपलब्ध गराउने प्रतिज्ञा र त्यसो नगरे सत्ता छोडन तयार छ ?
देशभक्त उद्यमीहरुको टाट पल्टिने अवस्था छ, के उनीहरुले राहत पाउँछन् ? स्वदेशी कच्चा पदार्थबाटबाट बनेका वस्तुले नेपालको बजारमा अग्राधिकार पाउने व्यवस्था गर्न सरकार तयार छ?

३० खर्बको ऋृण सीमित व्यापारी वा बिचौलिया गृहले लिएका छन् । यो जनताको निक्षेप हो। यी ऋृण लिने नै बैकर्स, ऋृणी, बिमावाला र ठेकेदार र नेता छन् । राष्ट्रनै यिनको अधीनमा छ । के यो नीतिगत भ्रष्टाचार रोक्न यो सरकार तयार छ ? देश ३४ खर्बको (व्यापार घाटा र ऋण) बोझ बोकेर थुचुक्क बसेको छ, अनी गरिबी घटेर १६ प्रतिशत पुग्यो भन्नू केबल भ्रम मात्र होइन ? कागजमा धनीको धन गरीबलाई बाँडेर गरीब धनी भए भन्ने गफ गर्न यो सरकारले बन्द गर्छ ? रेमिट्यान्स बन्द भयो भने आयात कसरी गर्छ ? योजना छ ?

जनताले कति किसिमका कर तिर्नु पर्छ ? के सरकारलाई थाह छ ? विश्वविद्यालयहरु थला परिसकेको कुरा सरकारलाई थाहा छ ? नेपाली भाषा र मातृ भाषा र नेपाली संस्कृतिमाथि दमन गर्ने नीति बोकेका स्कुल छन् र उनीहरु स्कुलमा बालबालिकाले नेपाली वा मातृभाषा बोल्दा सजाय गर्छन् भन्ने सरकारलाई थाहा छ ? जेलमा बन्दी बनाइएका कैद ६ महीना गरिएका तर तीन/चार/पांच बर्ष जेल बस्न बाध्य बनाइएका मानिस छन् भन्ने सरकारलाई थाहा छ ?

यस्ता अनेकौ समस्या छन् । यस्ता कुरा खोजेर समाधान गर्नुहोस् । मन्त्री पदलाई जगिर नबनाउनुहोस् ।
मन्त्री हुनु काफी थिएन ? किन उपप्रधानमन्त्री चाहिएको हो ? यही होइन र ठालुतन्त्र ? लोकतन्त्रलाई सामाजिक न्यायको पक्षमा जनतन्त्र तिर मुखरित गर्ने वा ठालुतन्त्र तर्फ ? यो सरकार संगीन संक्रमणमा छ । यी समस्याको समाधान खोज्नुहोस् । अन्यथा देश चरम दक्षिणपन्थको दलदलमा जाकिने छ ।

प्रकाशित: १३ पुष २०७९, बुधबार ०९:१५

Leave a Reply