No. 1 News Portal from Nepal, Political News, Science, Social, Sport, Ecomony, Business, Entertainment, Movie, Nepali Model, Actor, Actores, Audio, Video, Interview

राज्यको सम्पत्तिको र राष्ट्रसेवकको दोहन देखावटीभन्दा सार्थकरूपमा रोकियोस्

0

माधवकुमार बस्नेत ।

रवि लामिछानेले सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्नुपर्ने निर्णय गर्नुभएछ । त्यही निर्णयको परिणामस्वरूप केही सुरक्षाकर्मी फिर्ता पनि भएछन् । लामिछाने यो निर्णय कार्यान्वयन गर्न कति र कहिलेसम्म अडिग हुनुहुन्छ त्यो हेर्न बाँकी छ । सुरक्षाकर्मीहरू (वास्तवमा राज्य-सम्पति र राष्ट्रसेवक) को दुरुपयोगलाई रोक्न सकेमा रवि लामिछानेलाई नेपालीले पछिसम्म पनि सम्झिरहनेछन् ।

नेपाल र भारततिर सुरक्षाकर्मी अघिपछि लगाएर रवाफ देखाइँन्छ । मेरो विचारमा अहिले सुरक्षाकर्मी खटाइएका मध्ये ९९% लाई सुरक्षाकर्मी आवश्यक छैन । जसलाई आवश्यक छ त्यसको लागि पनि त्यति धेरै सुरक्षाकर्मी आवश्यक छैनन् । रवाफको लागि सुरक्षाकर्मी राख्नु मेरो बुझाइमा राज्यस्रोतको डकैती हो ।

बेलायतमा सन् १९६४ सम्म पनि बहालवाल प्रधानमन्त्रीले निजी सुरक्षाकर्मी लिँदा रहेनछन् । सन् १९६४ को आम चुनावताका प्रधानमन्त्री एलेक-डग्लस होम स्कटल्याण्डमा आफ्ना एक मित्रको घरमा बसेका रहेछन् । एक दिन घरका मानिसहरू बाहिर गई प्रधानमन्त्री मात्रै रहेनछन् । त्यही बखतमा अबर्डिन विश्वविद्यालयको विद्यार्थी युनियनका विद्यार्थीहरू छिरेर उनलाई अपहरण गर्न आएको भने । अपहरणकारीहरूलाई अल्मल्याउन प्रधानमन्त्रीले आफ्ना सामानहरू प्याक गर्न समय दिन अनुरोध गरे र त्यतिन्जेलसम्म उनीहरूलाई बीअर पिउन अनुरोध गरे । त्यसरी अपहरणकारीलाई केही समय अल्मल्याएपछि बाहिर गएका साथीका परिवारहरू पनि आएकाले उनी अपहरण हुनबाट बाँचे ।

बहालवाला प्रधानमन्त्री त्यसरी अपहरणमा झन्डै परेपछि मात्रै प्रधानमन्त्रीलाई निजी सुरक्षाकर्मी दिन थालिएको रहेछ । (Rodney Brazier, CHOOSING A PRIME MINISTER: THE TRANSFER OF POWER IN BRITAIN, at pp. 69-70 बाट साभार र भावानुवाद मेरो आफ्नै) ।
तर हाम्रोमा भने सुरक्षाको लागि आवश्यक भएरभन्दा रवाफको लागि राज्य-सम्पत्ति र राष्ट्रसेवकको दुरुपयोग गरेर सुरक्षाकर्मी राखिन्छ । अहिले राज्यको स्रोत र साधन दुरूपयोग गर्न पाएर जो जतिले आफूलाई “असुरक्षित” ठानेका छन् अब राज्यले सुरक्षाकर्मीको पारिश्रमिक, तलव, भत्ता र सेवाका अन्य सुविधाहरू राख्ने आफैँले ब्यहोर्नु पर्ने भनेर नियम बनाऊँ । त्यसपछि अहिले “असुरक्षित” भएर राज्यबाट सुरक्षाकर्मी लिनेहरू प्रायः सबै आफैँ “सुरक्षित” हुन्छन् ।
त्यसैले रवि लामिछानेको आँखासम्म बेलायतको यो घटना पनि पुगोस् र राज्य-सम्पत्तिको र राष्ट्रसेवकको दोहन देखावटीभन्दा सार्थकरूपमा रोकियोस् !

प्रकाशित: १५ पुष २०७९, शुक्रबार ०९:२९

Leave a Reply